
भारतबाट ठूलो मात्रामा आयात गरिएको कोइला सिर्सिया सुक्खा बन्दरगाहमा थुप्रिँदा स्थानीय खल्वाटोला बस्तीमा प्रदूषण फैलिएको भन्दै बासिन्दाले चर्को विरोध गरेका छन्।
सुक्खा बन्दरगाहको पश्चिमी भागमा हाल २५ देखि ३० हजार मेट्रिक टन कोइला थुप्रिएको छ। भारतको रक्सौलबाट सोझै रेलमार्ग प्रयोग गरी कोइला नेपाल ल्याइएको हो। यसअघि भारतीय रेल स्टेशनमै कोइला अनलोड गरी ट्रकमार्फत वीरगन्ज ल्याइन्थ्यो, तर रक्सौलमा प्रदूषणको विरोधपछि भारतीय सरकारले रेलमार्गमार्फत कोइला सिधै नेपाल पठाउन अनुमति दिएको हो।
यस निर्णयपछि रक्सौलको प्रदूषण त घटेको छ, तर वीरगन्जको खल्वाटोला क्षेत्रमा कोइलाको धुलो र प्रदूषण फैलिँदै गइरहेको स्थानीयको गुनासो छ। बस्तीमा कोइलाको धुलो घरभित्रै पस्न थालेको, स्वासप्रश्वासमा असर परेको र वातावरणीय जोखिम बढेको भन्दै उनीहरूले आवाज उठाएका छन्।
बन्दरगाहमा कोइलाको अत्यधिक थुप्रोले परिसरभित्रै फोहोर फैलिएको, सडकसम्म कोइलाको धुलो देखिने स्थिति बनेको छ। सञ्चालक कम्पनी प्रिस्टिन भ्यालीले प्रदूषण नियन्त्रणमा ध्यान नदिएको आरोप छ।
इन्टर मोडल यातायात विकास समिति कार्यालयका प्रमुख कमल ज्ञवालीका अनुसार जेठमा १८ र असारमा २२ वटा रेल र्याक मार्फत कोइला आयात गरिएको हो। वर्षा सुरु हुनुअघि आयातकर्ताले अधिक मात्रामा कोइला भित्र्याउने प्रचलन रहेको पनि उनले बताए।
हाल लुज कार्गोका रूपमा सुक्खा बन्दरगाहबाट भित्रिने वस्तुहरूमा कोइला पहिलो स्थानमा रहेको छ। यसले वीरगन्ज भन्सारमा राजस्व वृद्धिमा टेवा दिए पनि स्थानीय जनस्वास्थ्य र वातावरणीय पक्षमा भने गम्भीर असर परेको छ। तर, भन्सार तथा सरोकारवाला निकायहरू प्रदूषण नियन्त्रणमा मौन देखिएका छन्।