
नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो सिजनबाट झन्डै साढे २ करोड रुपैयाँ खुद नाफा कमाएको छ। बिहीबार मूलपानीमा बसेको क्यान केन्द्रीय समिति बैठकमा प्रस्तुत विवरण अनुसार, प्रतियोगिताबाट कुल आम्दानी २७ करोड ६९ लाख ६४ हजार ८१८ रुपैयाँ रहेको छ भने खर्च २० करोड १५ लाख ७३ हजार ५५९ रुपैयाँ पुगेको हो।
यसअनुसार ७ करोड ५३ लाख ९१ हजार २५९ रुपैयाँ खुद मुनाफा देखिएको छ। क्यान प्रवक्ता छुम्बी लामाका अनुसार, टिकट बिक्रीबाट ४ करोड २२ लाख ६५ हजार १५८ रुपैयाँ र कमर्सियल राइट्सबाट ६ करोड ६ लाख ५३ हजार ५९४ रुपैयाँ आम्दानी भएको थियो।
यी दुई मुख्य श्रोतबाट आर्जित रकममा कर कटौती गरेपछि ५०% क्यानले राख्ने र बाँकी ५०% ८ वटा फ्रेन्चाइज टोलीबीच बाँडफाँट गरिएको छ। यसअनुसार प्रत्येक फ्रेन्चाइज टोलीले ५४ लाख ६७ हजार ५५८ रुपैयाँ प्राप्त गरेका छन्।
टिकट बिक्रीको बाँकी रहेको ३ करोड १६ लाख ५० हजार ७८९ रुपैयाँबाट क्यानले ७ वटै प्रदेशलाई १०–१० लाख रुपैयाँ अनुदानस्वरूप दिएको छ।
क्यानले हाल सार्वजनिक गरेको आयव्यय विवरणमाथि गहन छलफल गर्दै अर्को केन्द्रीय समिति बैठकमार्फत अनुमोदन गरिने निर्णय पनि बैठकमा गरिएको छ। क्यानका अनुसार बैठक मुख्य रूपमा एनपीएलमा केन्द्रित थियो र अन्य विषयमा निर्णय चाँडै गरिनेछ।