
इंग्लिस प्रिमियर लिगको नयाँ सिजन सुरु हुँदै गर्दा लिभरपुल २१ पटकको कीर्तिमान उपाधिका साथ शीर्ष दाबेदारको रूपमा अघि बढिरहेको छ। आर्सनल र म्यानचेस्टर सिटी यसपटक लिभरपुललाई चुनौती दिने टिमका रूपमा रहेका छन् भने चेल्सी र म्यानचेस्टर युनाइटेड अझै सुधारको अवस्थामा छन्।
आर्सनलको प्रयास
पछिल्ला तीन सिजन लगातार दोस्रो स्थानमा रहेकाले आर्सनलले अब प्रिमियर लिग जित्ने लक्ष्य राखेको छ। प्रशिक्षक मिखेल आर्टेटाको नेतृत्वमा टिमले २०२० मा एफए कप जितेको थियो, तर लिग उपाधि भने सन् २००४ यता जित्न सकेको छैन। यसपटक आर्सनलले १८ करोड पाउन्ड खर्चिसकेको छ र प्रशिक्षक आर्टेटाले टिमको प्रदर्शन राम्रो हुने विश्वास व्यक्त गरेका छन्।
लिभरपुलको तयारी
लिभरपुल पहिलो खेलमा बर्नमाउथको सामना गर्दै छ। प्रशिक्षक आर्ने स्लटले ३४ करोड ३० लाख डलर खर्च गरी नयाँ खेलाडीहरू फ्लोरिन विर्टज, ह्युगो एकिटिके, जेरेमी फ्रिमपोङ र मिलोस केरकेज टिममा भित्र्याएका छन्। डारविन नुनेज र लुइस डियाज टिम छाडेका कारण आक्रमण फरक स्वरूपमा रहनेछ।
म्यानचेस्टर सिटीको चुनौती
पेप ग्वार्डिओलाको टोलीले पछिल्लो सिजनको असफलता पछाडि छोड्दै टिम फेरिएको छ। नयाँ खेलाडी रायन एइट–नुरी, रायन चेरकी, टिजानी रेजिन्डर्स र जेम्स ट्राफोर्ड टिममा सामेल भएका छन्, जबकि केभिन डी ब्रुएना, केली वाल्डकर र ज्याक ग्रेलिस टिम छाडेका छन्।
चेल्सी र युनाइटेडको लक्ष्य
क्लब वर्ल्डकप जितेको चेल्सीले नयाँ सिजनमा त्यही लय दोहोर्याउन चाहन्छ। कान्छा खेलाडीले भरिएको टिमले गत सिजन चौथो स्थानमा रहेर युरोपेली च्याम्पियन्स लिगको छनोट पाएको थियो।
म्यानचेस्टर युनाइटेडले पूर्ण टिम परिवर्तनको तयारी गरेको छ। गत सिजन १५ औं स्थानमा रहेको टिमले २० करोड पाउन्ड खर्चेर बेन्जामिन सेस्को, ब्रायन एमबेउमो र म्याथिस कुन्हा किनेको छ। मार्कस रसफोर्ड भने बार्सिलोनातिर गएका छन्।
यस सिजन प्रिमियर लिगमा लिभरपुलको प्रमुख दाबेदारी रहेको भए पनि आर्सनल, म्यानचेस्टर सिटी, चेल्सी र युनाइटेडले चुनौती दिनेछन्।