Join our Channel

बैतडीमा सात जनामा डेङ्गी संक्रमण, ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु

बैतडीमा सात जनामा डेङ्गी संक्रमण, ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु

जिल्लामा डेङ्गीको जोखिम बढ्दै गएपछि स्थानीय तह र स्वास्थ्य निकायहरूले नियन्त्रण र रोकथामका लागि अभियान सञ्चालन गरेका छन्।

स्वास्थ्य कार्यालयका प्रयोगशाला प्राविधिक जयसिंह बडालका अनुसार हालसम्म बैतडीमा सात जनामा डेङ्गी संक्रमण पुष्टि भइसकेको छ। संक्रमितमध्ये दशरथचन्द नगरपालिकामा तीन, पुचौडी नगरपालिकामा दुई तथा मेलौली र पाटन नगरपालिकामा एक–एक जना रहेका छन्।

डेङ्गीको संक्रमण फैलिन नदिन बुधबारदेखि ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गरिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपिन लेखकले जानकारी दिए। अभियानमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, नागरिक समाज र स्थानीयहरूको सक्रिय सहभागिता रहेको छ।

यसैबीच, स्थानीय तहहरूले पनि नियमित रूपमा सरसफाइ र लामखुट्टे नियन्त्रणका कार्यक्रम सञ्चालन गरिरहेका छन्। दोगडाकेदार गाउँपालिकाले हरेक शुक्रबार सरसफाइ अभियान सञ्चालन गर्दै आएको छ।

दोगडाकेदार गाउँपालिकाका सूचना अधिकारी प्रयागराज पन्तका अनुसार, तीन महिनासम्म सञ्चालन हुने अभियानमा सम्पूर्ण विद्यालय, स्वास्थ्यचौकी र सरकारी कार्यालयहरूलाई सहभागी हुन आग्रह गरिएको छ।

Leave a comment