
उपसभामुख इन्दिरा रानाविरुद्ध पदअनुकूल आचरण नगरेको आरोपमा प्रस्ताव दर्ता गर्ने तयारी तत्कालका लागि रोकिएको छ। सत्तारूढ दल नेपाली कांग्रेस र एमालेले मंगलबार प्रस्ताव दर्ता गर्ने योजना बनाए पनि साना दलहरूले साथ नदिँदा प्रक्रिया रोकिएको हो।
प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको छलफलपछि प्रस्ताव दर्ताको गृहकार्य सुरु गरिएको थियो। तर जसपा नेपाल, जनमत पार्टी, लोसपा र नागरिक उन्मुक्ति पार्टीलगायत साना दलहरूले उपसभामुख राना विदेशमा रहेकाले अहिले हस्ताक्षर गर्न मानवीय र राजनीतिक रूपमा उचित नहुने धारणा राखे।
बैठकमा नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठले हस्ताक्षर गरे पनि अन्य दलका सचेतकहरूले पार्टीभित्र पुनः छलफल गर्नुपर्ने बताए। जसपा नेपाल र जनमत पार्टीका प्रतिनिधिहरूले कांग्रेस र एमाले नै एकमत भएपछि मात्रै समर्थन गर्ने संकेत गरेका छन्।
कांग्रेस र एमालेले उपसभामुख रानालाई हटाउने एजेन्डामा दुई तिहाइ मत पुर्याउन कठिनाइ रहेको स्वीकार गरेका छन्। राना अमेरिकाबाट भदौ १३ गते फर्कने भएकाले प्रस्ताव दर्ता गर्ने समय त्यहीपछाडि सारिएको छ।
संसदमा भने माओवादी, रास्वपा र स्वतन्त्र सांसदहरूले प्रस्ताव दर्ता प्रक्रियालाई अलोकतान्त्रिक र साना दलहरूलाई तर्साउने प्रयास भएको भन्दै आलोचना गरेका छन्। उनीहरूले महिला जनप्रतिनिधिको सम्मान र संवैधानिक प्रक्रियालाई प्राथमिकता दिन आग्रह गरेका छन्।