
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अप्पर अरुण जलविद्युत आयोजनामा संखुवासभाका ४० हजार घरधुरीलाई प्रत्यक्ष सहभागी गराउने कार्ययोजना अघि बढाएको बताएका छन्। नेपाल प्रेस युनियन संखुवासभाले आयोजना गरेको पत्रकार भेटघाटमा उनले १,०६३ मेगावाट क्षमताको यस परियोजनामा प्रत्येक घरधुरीलाई पाँच लाख रुपैयाँका दरले शेयर दिने तयारी भइरहेको जानकारी दिए।
उनका अनुसार आयोजनाको निर्माण कार्य ५० प्रतिशत पुग्दासम्म शेयर निष्कासन गरिसक्ने लक्ष्य छ। “यो आयोजना बिजुली उत्पादनमा मात्र सीमित छैन,” मन्त्री खड्काले भने, “यसले संखुवासभावासीलाई आर्थिक समृद्धितर्फ अघि बढाउने छ।” विपन्न वर्गलाई पनि समावेश गर्न बैंकमार्फत १२–१५ प्रतिशत नागरिकलाई निशुल्क ऋण उपलब्ध गराइने उनको भनाइ छ।
स्थानीय जनशक्तिलाई प्राथमिकता दिँदै आयोजना सञ्चालन र मर्मतसम्भारमा दक्ष जनशक्ति परिचालन गरिने उल्लेख गर्दै उनले भने, “स्रोत माथिको अधिकार सबैको हुन्छ। अरुण तेस्रोको आशा धेरै पुरानो हो, अब सपना पूरा हुने दिन आएको छ।”
अप्पर अरुण जलविद्युत आयोजना नेपालकै महत्वाकांक्षी परियोजनामध्ये एक हो। यसले विद्युत उत्पादनसँगै स्थानीय जनसहभागिता र प्रदेशको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। मन्त्री खड्काले प्राविधिक र व्यवसायिक शिक्षा विस्तारमार्फत रोजगार र आत्मनिर्भरता बढ्ने विश्वास पनि व्यक्त गरे।