
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले मन्त्रिमण्डल पुनर्गठनको सम्भावना नरहेको स्पष्ट पारेका छन्। शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले कुनै पनि मन्त्रिमण्डल पुनर्गठनको योजना नभएको बताए।
देउवाले काँग्रेस–एमाले गठबन्धनको सरकार आगामी २०८४ सालको चुनावसम्म चल्ने दाबी पनि गरे। संविधान संशोधन केवल दलहरूको सहमतिमा मात्रै सम्भव हुने र त्यसका लागि दुई–तिहाइ बहुमत आवश्यक पर्ने उनको धारणा छ। उनले कार्यदलमार्फत सबै दललाई समेटेर संशोधन प्रक्रिया अघि बढाइने बताए।
सामाजिक सञ्जालसम्बन्धी विवादबारे उनले भने, सरकारले सञ्जाल बन्द गर्नुको सट्टा अदालतको निर्णय अनुसार दर्ता प्रक्रिया सुनिश्चित गर्न खोजेको हो।
कांग्रेस पार्टीको महाधिवेशनको मिति भने केन्द्रीय समितिले तोक्ने समयमा निर्णय हुने जानकारी सभापति देउवाले दिएका छन्।