Join our Channel

जेनजी आन्दोलनमा दुई दर्जन होटलमा २५ अर्बको क्षति, हजारौं रोजगारी संकटमा

जेनजी आन्दोलनमा दुई दर्जन होटलमा २५ अर्बको क्षति, हजारौं रोजगारी संकटमा

नयाँ पुस्ता (जेनजी)ले गरेको आन्दोलनका क्रममा देशभरका झन्डै दुई दर्जन होटलमा ठूलो क्षति पुगेको छ। होटल संघ नेपाल (हान)ले संकलन गरेको प्रारम्भिक विवरणअनुसार करिब २५ अर्ब रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको जनाएको छ।

काठमाडौंमा रहेको हिल्टन होटल मात्र ८ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको हानले जनाएको छ। प्रभावित होटलहरू काठमाडौं उपत्यका, पोखरा, बुटवल, भैरहवा, झापा, मोरङ, विराटनगर, धनगढी, महोत्तरी र दाङ तुल्सीपुरलगायतका क्षेत्रमा सञ्चालनमा रहेका स्वदेशी तथा विदेशी ब्रान्डका प्रतिष्ठान हुन्। आन्दोलनकारीले तोडफोड, आगजनी र लुटपाट गरेका थिए।

२ हजारभन्दा बढी कामदार प्रभावित
मर्मतसम्भार र पुनर्निर्माण नगरी यी होटल सञ्चालनमा आउन नसक्ने भएकाले करिब २ हजारभन्दा बढी कामदारले चाडपर्वको समयमा रोजगारी गुमाएका छन्। साथै, बैंक तथा वित्तीय संस्थाप्रतिको दायित्व नियमित बुझाउन नसक्ने अवस्था देखिएको छ।

हानले जारी गरेको विज्ञप्तिमा शक्तिशाली न्यायिक समिति गठन गरी क्षतिको यथोचित छानबिन र अपराधीलाई दण्डसहित क्षतिपूर्ति दिलाउन माग गरिएको छ। साथै, होटल क्षेत्रलाई पुनर्निर्माण र सञ्चालनमा ल्याउन राज्यबाट आर्थिक प्याकेज उपलब्ध गराउनुपर्ने संघको माग छ।

Leave a comment