Join our Channel

मुख्यमन्त्री हिक्मतकुमार कार्की: ‘जेनजी पुस्ताको चाहना अनुसार अघि बढ्नुपर्छ’

मुख्यमन्त्री कार्की: ‘जेनजी पुस्ताको चाहना अनुसार अघि बढ्नुपर्छ’

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नयाँ पुस्ताको चाहना र सोचअनुसार अघि बढ्नुपर्ने बताएका छन्।

संविधान दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै उनले परिवर्तनसँगै जेनजी पुस्ताको आकांक्षा अनुसार अघि बढ्नु नै समयको आवश्यकता भएको बताए।

मुख्यमन्त्री कार्कीले भने, “जे परिवर्तन भइरहेको छ, नयाँ पुस्ताको चाहना अनुसार अघि बढ्नुपर्छ। ऐतिहासिक उपलब्धि संविधान हो र यसको रक्षा सबैको साझा जिम्मेवारी हो।”

उनले संविधान दिवसको अवसरमा सबै राजनीतिक दल, नागरिक समाज र जनतालाई ऐतिहासिक संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि एकजुट हुन आह्वान गरे।

युवाहरूको ऊर्जा, सिर्जनशीलता र क्षमता नै प्रदेशको प्रगतिको आधार भएको भन्दै उनले राष्ट्रिय आकांक्षा पूरा गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।

प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले पनि संविधान दिवसले कठिन परिस्थितिमा पनि आशाको किरण जगाउने संदेश दिएको बताए। उनले भने, “प्रदेश सरकारका भवनहरू जलेका छन्। तर लोकतन्त्र र संविधानको उज्यालो जीवितै छ। पीडाबीच आशाको किरण जगाउन यो अवसर महत्त्वपूर्ण छ।”

Leave a comment