
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीलाई अहिलेको चुनौतीपूर्ण अवस्थामा उकास्न पार्टी पुनर्गठन वा विशेष महाधिवेशनबाहेक विकल्प नभएको बताएका छन्।
शुक्रबार पार्टी कार्यालयमा बसेको कार्यसम्पादन बैठकमा बोल्दै उनले विगतका गल्ती स्वीकार्दै आत्मसमीक्षा र आत्ममन्थन गरेर कांग्रेसलाई आमूल परिवर्तनसहित पुनर्गठन गर्नुपर्नेमा जोड दिए।
महामन्त्री थापाले भने, “पार्टी घाइते अवस्थामा छ, तर जिम्मेवारीबाट भाग्न मिल्दैन। सुशासन र भ्रष्टाचारमुक्त समाज निर्माणका लागि कांग्रेसले अगुवाइ गर्नुपर्छ।”
उनले दोस्रो विकल्पका रूपमा विधानअनुसार नियमित अधिवेशन वा तत्काल विशेष महाधिवेशन गर्नुपर्ने प्रस्ताव अघि सारे। उनका अनुसार पार्टीको वर्तमान कार्यसमितिको कार्यकाल मंसिरमा सकिने भएकाले अब म्याद नथपेर समयमै अधिवेशन गर्नुपर्ने छ।
थापाले क्रियाशील सदस्यता अद्यावधिक गरी त्यसै आधारमा अधिवेशन गर्न सकिने बताए। साथै, विधानले केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा ४० प्रतिशत सदस्यको लिखित प्रस्तावमा तीन महिनाभित्र विशेष महाधिवेशन गर्न सकिने प्रावधान रहेको स्मरण गराउँदै अहिलेको विशेष परिस्थिति विचार गरेर तुरुन्त महाधिवेशन गर्नुपर्ने धारणा राखे।
उनले भने, “तत्काल पार्टी पुनर्गठनका लागि यी दुईभन्दा अर्को विकल्प छैन। यसरी आउने नेतृत्वले मात्र अहिलेको जिम्मेवारी पूरा गर्न सक्छ।”
यस्तै अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि विशेष महाधिवेशनको माग गर्दै थापाको प्रस्तावलाई समर्थन गरेका छन्।