
जेनजी आन्दोलनका क्रममा विभिन्न मन्त्रालयका १,००० भन्दा बढी सरकारी सवारीसाधनमा आगलागी र तोडफोड भएको प्रारम्भिक अनुमान गरिएको छ। तीमध्ये करिब ४०० चारपांग्रे गाडी र ६०० मोटरसाइकल जलेर नष्ट भएका छन्।
क्षतिको विवरण
- सहरी विकास मन्त्रालय: ५२ गाडी, ७० मोटरसाइकल जले
- भौतिक मन्त्रालय: ९ गाडी जले, १३ तोडफोड
- मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालय: ४८ गाडी, ७० मोटरसाइकल जले
- गृह मन्त्रालय: २५ गाडी, ३० मोटरसाइकल जले
सडक विभागले क्षतिको विस्तृत विवरण संकलन गर्न उपमहानिर्देशक श्याम खड्काको संयोजकत्वमा समिति बनाएको छ।
संसद् भवनमा थन्काउने प्रक्रिया
जलेका गाडीलाई बिहीबारदेखि नयाँबानेश्वरस्थित संसद् भवन परिसरमा थन्काउन सुरु गरिएको छ। गृह मन्त्रालयको आन्तरिक प्रशासन महाशाखाअन्तर्गतको सवारी तथा समारोह व्यवस्थापन शाखाले यो जिम्मेवारी लिएको हो।
बचेकै सवारीसाधनलाई प्रधानमन्त्रीदेखि सचिवसम्मको लागि प्रयोगमा ल्याइएको छ। तर धेरै कर्मचारीले निजी गाडी, मोटरसाइकल, स्कुटी, पठाओ वा सार्वजनिक यातायात प्रयोग गरेर कार्यालय आउजाउ गरिरहेका छन्।
बीमित गाडी थन्काउने
प्रवक्ता नारायण मैनालीका अनुसार मन्त्रालयहरूले जलेका गाडीको मुचुल्का बनाएर संसद् भवनमा थन्काउन थालेका हुन्। बीमा भएका गाडी भने प्रक्रिया पूरा गरेर मात्रै थन्काइने गरिएको छ।