Join our Channel

तयार भयो वीरगञ्जको घण्टाघर

तयार भयो वीरगञ्जको घण्टाघर

पर्सास्थित वीरगञ्जको प्रतिष्ठाको प्रतीक घण्टाघर सात महिनापछि पुनः मर्मतसम्भार गरेर तयार गरिएको छ। गत फागुन ७ गते कमजोर ‘बाल्कोनी’ संरचना भत्किएपछि इँटा खसेको घण्टाघरलाई वीरगञ्ज महानगरले पुनः पुरानै स्वरूपमा ल्याएको हो।

वीरगञ्ज महानगर भूमि व्यवस्था तथा सहरी विकास महाशाखा प्रमुख प्रभात झाले घण्टाघरको सम्पूर्ण संरचना म्यानुअल ढङ्गले मर्मत गरिएको जानकारी दिए। उनले भने, “ऐतिहासिक धरोहर भएकाले मेसिन प्रयोग गर्न सकिँदैनथ्यो। त्यसैले केही समय बढी लाग्यो। अहिले लगभग सबै संरचना निर्माण पूरा भएको छ।”

मर्मतका मुख्य पक्ष:

  • रङरोगन गरी पहिलाकै स्वरूपमा पुनःस्थापना
  • कन्ट्रक्सन नेट र स्काफोल्डिङ प्रयोग गरेर सुरक्षित मर्मत
  • आकाशे पानी निकासको व्यवस्था सुधार
  • अनुमानित लागत करिब २० लाखभन्दा कम

मर्मतपश्चात घण्टाघर कम्तीमा १० वर्षसम्म टिकाउ हुने विश्वास लिइएको छ। तर, भित्री संरचना भने पुरानो बन्दै गएको महाशाखा प्रमुख झाले बताए।

घण्टाघरको मर्मत कार्य महाशक्ति कन्स्ट्रक्सनले सम्पन्न गरेको हो। वीरगञ्ज आउने स्वदेशी तथा विदेशी पर्यटकका लागि यो घण्टाघर अझै पनि आकर्षणको केन्द्र रहँदै आएको छ।

ऐतिहासिक पृष्ठभूमि
वीरगञ्जको घण्टाघर सन् १९७९ फेब्रुअरी ८ मा निर्माण गरिएको हो। जापानको योनागो सहरका विद्यार्थीहरूले आफ्नो एक दिनको खाजाको पैसा कटाएर आवश्यक बजेट जुटाएको भन्ने कथन आज पनि स्थानीय बासिन्दाले स्मरण गर्ने गर्छन्।

Leave a comment