
भदौ २४ गतेको आन्दोलनको क्रममा भएको आगजनीले सर्वोच्च अदालतसहित देशभरका २३ वटा अदालतमा ठूलो क्षति पुर्याएको छ। विशेष गरी सर्वोच्च अदालतका इजलास, फाँट, मिसिल र संवेदनशील कागजातहरू खोजीखोजी आगो लगाइएका कारण हजारौं मुद्दा प्रभावित भएका छन्।
बारा परवानीपुर–५ का यासुदिन देवान आइतबार सर्वोच्च अदालत पुगेका थिए। तर, उनले दर्ता गरेको मुद्दाको मिसिल नै जलेर नष्ट भइसकेको थाहा पाएपछि स्तब्ध बने। “रात्री बस चढेर आएँ, तर यहाँ त फैसला हुँदैन भनियो। थाहा भएको भए किन आउँथे र?” उनले दुखेसो पोखे।
आगजनीले खेर गएको न्याय
सर्वोच्च अदालतका कर्मचारीहरू जलेका फाँटभित्र बाँकी रहेका फाइल खोतल्दै थिए। असिनपसिन भएर मास्क लगाइरहेका उनीहरूको अनुहारमै पीडा देखिन्थ्यो। कोठाभर दुर्गन्ध, कालो धुवाँ र खरानीमात्र बाँकी थियो।
भदौ २२ सम्म सर्वोच्च अदालतमा २४,२३४ मुद्दा दर्ता भएका थिए। तीमध्ये १,२०२ मुद्दा पाँच वर्षभन्दा पुराना, ८,७६२ मुद्दा दुई वर्ष नाघेका र १४,२७० मुद्दा दुई वर्ष भित्रका थिए। तीमध्ये ठूलो संख्यामा फाइल र मिसिल जलेको आशंका गरिएको छ।
कार्यदल र खोजी
न्यायाधीश तिलप्रसाद श्रेष्ठको संयोजकत्वमा बनेको कार्यदलले जलेका मिसिलको अवस्थाबारे अध्ययन गरिरहेको छ। “विशेष परिस्थितिका कारण नष्ट भएका कागजातको प्राप्ति र प्रमाणीकरणसम्बन्धी निर्देशिका २०८२” को मस्यौदा तयार गरी छलफल भइरहेको छ।
अदालत प्रशासनका अनुसार सर्वोच्च, विशेष अदालत, ७ वटा उच्च अदालत र १४ जिल्ला अदालतमा क्षति पुगेको छ। इजलास, सवारीसाधनदेखि मुद्दाका प्रमुख मिसिलसमेत जलेका छन्।
पाल टाँगेर सुनुवाइ
आगजनीपछि सर्वोच्च अदालतले अस्थायी रूपमा पाल टाँगेर बन्दी प्रत्यक्षीकरण रिटका सुनुवाइ सुरु गरिसकेको छ। सहायक प्रवक्ता नीराजन पाण्डेका अनुसार आइतबार मात्र न्यायाधीश सुनील पोखरेलको एकल इजलासले तीनवटा रिट सुनुवाइ गर्यो।
तर, मुख्य प्रश्न अझै उस्तै छ – जलेर खरानी भएका ठूला मुद्दाका मिसिल अब कसरी पुनःप्राप्त हुने? पीडित नागरिकले न्याय पाउने आशा हराउँदै गएको देखिन्छ।