
म्याग्दी सदरमुकाम बेनीको कालीपुल बसपार्कमा सोमबार यात्रु सहायता कक्ष स्थापना गरिएको छ। यो कक्ष चाडपर्वका बेला यात्रुलाई सहज र सुरक्षित यात्रा सुविधा उपलब्ध गराउने उद्देश्यले खोलेको हो।
कालीपुल बसपार्क म्याग्दी प्रवेश गर्ने मुख्य स्थलमार्गमा रहेको प्रमुख नाका हो, जहाँबाट म्याग्दीका विभिन्न स्थानतर्फ लामो तथा छोटो दूरीका यातायातका साधनहरू सञ्चालन हुन्छन्।
जिल्ला प्रहरी कार्यालयका नायव उपरीक्षक सूर्यबहादुर थापाका अनुसार, “चाडपर्वको समय यात्रु र तीर्थयात्रीको संख्या बढ्ने भएकाले बसपार्कमा ट्राफिक कार्यालय परिसरमा सहायता कक्ष स्थापना गरिएको हो। यात्रु, पर्यटक र यातायात व्यवसायीलाई सहयोग र सहजिकरण गर्ने उद्देश्यले कक्ष सञ्चालनमा ल्याइएको छ।”
सहायता कक्षमा दशैँ, तिहार र छठ पर्व अवधिभर नियमित सुरक्षाकर्मीको उपस्थिति रहने छ। प्रनाउ थापाका अनुसार, मालिका गाउँपालिकाको केन्द्र दरवाङमा पनि सहायता कक्ष सञ्चालन हुनेछ, जसले यात्रुहरूलाई सार्वजनिक यातायात प्रयोग गर्दा हुने समस्याहरू हटाउन सहयोग पुर्याउनेछ।
उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीकी कार्यवाहक प्रमुख डिलकुमारी खत्री र प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले यात्रु र यातायात व्यवसायीलाई सुरक्षित यात्रा सुनिश्चित गर्न आग्रह गरे।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक विशाल परियारले भने, “सहायता कक्ष सञ्चालनका साथै दुर्घटना न्यूनीकरणका लागि नियमित जाँचलाई निरन्तरता दिइनेछ।”