Join our Channel

शिक्षामन्त्री महावीर पुन मन्त्रालयमै बस्न थाले, तत्काल कार्ययोजना अघि बढाइने

शिक्षामन्त्री महावीर पुन मन्त्रालयमै बस्न थाले, तत्काल कार्ययोजना अघि बढाइने

नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन सोमबार कार्यभार सम्हालेपछि मंगलबारदेखि मन्त्रालयमै बसेर काम गर्न थालेका छन्। उनले कार्यस्थलमै बसेर निरन्तर खटिनु मात्र नतिजा दिन सक्ने धारणा व्यक्त गरेका छन्।

सिंहदरबारको शिक्षा मन्त्रालय भवन जेनजी आन्दोलनमा जलेपछि हाल केशरमहलमा सारिएको छ। मन्त्रालयको विषम परिस्थितिमा समेत मन्त्री पुनका लागि सुरक्षित र व्यवस्थित कोठा मिलाउन कर्मचारीहरू दिनभरि खटिएका थिए। सचिव चूडामणि पौडेलको निर्देशन अनुसार, प्रशासन महाशाखाकी प्रमुख अनिता निरौलाले मन्त्री र सुरक्षा गार्डका लागि कोठा, किचेन र सुत्ने व्यवस्था मिलाइन्।

मन्त्री पुनले आफू मन्त्रालयभित्रै बसेर खाना, सुत्ने र काम गर्ने निर्णय गरेका छन्। उनले भने,
“कुनै पनि कामको उपलब्धि चाहिने हो भने काम गर्ने ठाउँमै बसेर निरन्तर खट्नुपर्छ अनि मात्र सफलता पाइन्छ। मेरो नीतिअनुसार मन्त्रालयमै बसेर काम गर्नेछु।”

मंगलबार मन्त्री पुनले संगठनिक, नीति, कार्यक्रम र बजेटबारे सबै महाशाखा प्रमुखहरूसँग छलफल गरी आवश्यक जानकारी लिएका छन्। प्रवक्ता शिव सापकोटाका अनुसार मन्त्रीले अप्ठ्यारो वा असहज अवस्था भए तुरुन्तै समाधान गर्न निर्देशन दिएका छन्।

मन्त्री पुनका कार्ययोजना र निर्णयहरू

  • सामुदायिक माध्यमिक विद्यालयमा कम्प्युटर शिक्षक अनिवार्य: प्रत्येक विद्यालयमा कम्तीमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी थपिने।
  • विश्वविद्यालयको परीक्षाफल: विश्वविद्यालयलाई ३ महिनाभित्र अनिवार्य परीक्षाफल निकाल्न निर्देशन, समयमै ननिकाल्ने विश्वविद्यालयको अनुदान रोक्ने चेतावनी।
  • त्रिभुवन विश्वविद्यालय कीर्तिपुर: हाताभित्रको झाडी फाँडेर सुन्दर बगैंचा र फुटपाथ बनाउने।
  • विज्ञान तथा प्रविधि सुधार: राष्ट्रिय अन्तरिक्ष तथा एरोनोटिकल, सूचना प्रविधि र कृत्रिम बौद्धिकता, परमाणु विज्ञान, जैविक प्रविधि सल्लाहकार समिति गठन।

१८ वर्षदेखि मन्त्रालयमा काम गरिरहेका कर्मचारीहरूले भने, मन्त्री पुनको मन्त्रालयमै बस्ने निर्णय अत्यन्तै सकारात्मक र ऐतिहासिक कदम भएको बताएका छन्।

Leave a comment