Join our Channel

कोरला नाकामा ह्वात्तै बढ्यो व्यापारिक चहलपहल, १५ दिनमै दुई अर्बभन्दा बढी राजस्व

कोरला नाकामा ह्वात्तै बढ्यो व्यापारिक चहलपहल, १५ दिनमै दुई अर्बभन्दा बढी राजस्व

नेपाल–चीन उत्तरी कोरला नाकास्थित न्हेचुङ भन्सार कार्यालयले १५ दिनमै दुई अर्ब दुई करोड ९६ लाख २९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। गत ३१ भदौमा पूर्ण रूपमा सञ्चालनमा आएको यस भन्सार कार्यालयले मंगलबार बिहानसम्म सो राजस्व संकलन गरेको हो।

भन्सार कार्यालयको इतिहासमै पहिलो पटक यति ठूलो मात्रामा राजस्व संकलन भएको हो। दैनिक औसत राजस्व संकलन १३ करोड ६६ लाख रुपैयाँभन्दा बढी रहेको छ। यसअघि यहाँ वर्षेनि १० देखि १५ लाख रुपैयाँसम्म मात्रै राजस्व संकलन हुने गरेको थियो।

रसुवागढी र तातोपानी नाका बाढी–पहिरोका कारण अवरुद्ध हुँदा चीनबाट मालसामान तथा विद्युतीय सवारी साधनको आयात बढेकाले कोरला नाकाको चहलपहल ह्वात्तै बढेको हो। भन्सार प्रमुख रमेश खड्काका अनुसार भन्सार कार्यालयले भित्रिएका १,१०९ विद्युतीय सवारीमध्ये ९६५ को भन्सार प्रक्रिया पूरा गरिसकेको छ भने १४४ अझै बाँकी छ।

यस्तै, ३७५ मालवाहक कन्टेनरको भन्सार प्रक्रिया पूरा भई ती सबै गन्तव्यतर्फ प्रस्थान गरिसकेका छन्। दसैँ बिदाका कारण हाल भन्सार कार्य केही दिनका लागि स्थगित भएको छ र असोज २१ गतेदेखि पुनः नियमित काम सुरु हुने भन्सार नायब सुब्बा उत्तम राईले जानकारी दिए।

कोरला नाका सञ्चालनमा आएसँगै मुस्ताङमा व्यापारिक गतिविधि बढेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले बताए। उनका अनुसार नाकामा स्थानीय युवाले सवारी सञ्चालन, लोड–अनलोड र अन्य भन्सारसम्बन्धी गतिविधिबाट उल्लेख्य आम्दानी गर्न थालेका छन्।

Leave a comment