Join our Channel

सामूहिक सयपत्री खेतीमा आँबुखैरेनीका महिलाको सफलता

सामूहिक सयपत्री खेतीमा आँबुखैरेनीका महिलाको सफलता

तनहुँको आँबुखैरेनी गाउँपालिका–१ यान्चोकका महिलाहरूले सामूहिक रूपमा सयपत्री फूलखेती विस्तार गर्दै आत्मनिर्भर बन्ने अभियानलाई अझ मजबुत बनाएका छन्।

विगत तीन वर्षदेखि फूलखेतीमा सक्रिय महिलाहरूले पहिलो वर्ष २२ रोपनी क्षेत्रफलमा खेती सुरु गरेका थिए भने दोस्रो वर्ष ४० रोपनीमा विस्तार गरेका थिए। यस वर्ष खेतीको क्षेत्रफल बढाएर ५० रोपनी पुर्‍याइएको यान्चोकटार महिला लघु उद्यमी समूहकी अध्यक्ष सुन्तली गुरुङले जानकारी दिइन्।

उनका अनुसार बजारको कुनै समस्या नभएकाले महिलाहरू व्यावसायिक रूपमा खेतीमा आकर्षित भएका छन्। गाउँपालिकाले पनि फूलको बजारीकरणमा निरन्तर सहयोग गर्दै आएको हुँदा खेती अझ सहज भएको उनले बताइन्। तिहार नजिकिँदै गरेकाले फूल टिप्ने काम सुरु भइसकेको छ।

समूहमा आबद्ध ७० महिलाले सयपत्री खेती गरिरहेका छन्। ‘चाडपर्वलगायत अन्य कार्यक्रममा बाहिरबाट फूल ल्याउन नपरोस् भन्ने उद्देश्यले गाउँपालिकाले यो अभियानलाई अगाडि बढाएको हो,’ अध्यक्ष गुरुङले भनिन्।

गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीका अनुसार महिलालाई फूलखेती, टिपाइँ र माला बनाउने सीपसमेत प्रशिक्षण दिइएको छ। यसले महिलालाई सीपसहित आत्मनिर्भर बन्न टेवा पुगेको छ।

आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले सयपत्री खेतीले महिलालाई आत्मनिर्भर बन्ने मात्र होइन, स्थानीयस्तरमा फूल उत्पादन र रोजगारी सिर्जना गर्न पनि सहयोग पुगेको बताए।

Leave a comment