
महोत्तरीको बर्दिवास नगरपालिका–१० खयरमारामा आज बिहान भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन्।
ना ६ ख १४६४ नम्बरको यात्रुवाहक बस खयरमारास्थित लक्ष्मीनारायण माध्यमिक विद्यालयको पर्खाल भत्काउँदै नरिवलको रुखमा ठोकिँदा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख लक्ष्मीराज जोशीले जानकारी दिएका छन्।
दुर्घटनामा ६५ वर्षीय स्थानीय पैदल यात्री चुल्हाई चौधरी घटनास्थलमै मृत्यु भएका छन् भने बसमा सवार **१० वर्षीय प्रमिस खड्का (ईश्वरपुर–१२, सर्लाही)**को उपचारका क्रममा बर्दिवासस्थित शुभ स्वस्तिक अस्पतालमा ज्यान गएको हो।
त्यस्तै, दुर्घटनामा परी १३ महिलासहित २६ जना घाइते भएका छन्। घाइतेहरूको बर्दिवासस्थित शुभ स्वस्तिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारण अझै स्पष्ट हुन बाँकी रहेको र थप विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी शैलेन्द्रकुमार भट्टले जानकारी दिएका छन्।