
दशैंतिहारको भीडभाडमा यात्रुहरूबाट हवाई टिकट महँगो लिइएको गुनासो बढेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको उच्चतम भाडादर सार्वजनिक गरेको छ।
दशैंको टीकाको दिन सूचना जारी गर्दै प्राधिकरणले काठमाडौंसहित विभिन्न गन्तव्यका लागि अधिकतम भाडादर तोकेको हो। तोकिएको सूचीअनुसार सबैभन्दा महँगो भाडा काठमाडौं–धनगढी रुटमा १७ हजार ५७९ रुपैयाँ छ।
प्राधिकरणले नेपाल सरकारबाट स्वीकृत तोकिएको भन्दा बढी रकम यात्रुबाट लिन नपाइने चेतावनी दिएको छ। यसरी बढी भाडा लिएको पाइएमा वायु सेवा प्रदायक कम्पनीलाई कारबाही गर्ने चेतावनी दिइएको हो। तर प्राधिकरणले न्यूनतम भाडादर भने सार्वजनिक गरेको छैन।
यात्रुको चाप बढी हुने चाडपर्वको समयमा नियमित भाडादरमै उडान गर्न सरकार आफैंले पहल गर्नुपर्नेमा प्राधिकरणले अधिकतम भाडा सार्वजनिक गरेर वायु सेवा कम्पनीलाई थप फाइदा दिलाउन खोजेको आरोपसमेत लागेको छ।
हाल प्राधिकरणको अध्यक्षमा प्रधानमन्त्री एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुशिला कार्की रहेका छन्।
