
मनसुनको सक्रियतासँगै ठूलो वर्षाको सम्भावना बढेपछि मनाङ–लमजुङ सडक खण्डमा रातिको समयमा सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ।
मौसम विज्ञान विभागले असोज २० गतेसम्म मध्यमदेखि ठूलो वर्षा हुने पूर्वानुमान गरेपछि जिल्ला प्रशासन कार्यालय मनाङले सूचना जारी गर्दै बेलुका ६:३० बजेदेखि बिहान ७ बजेसम्म सवारी सञ्चालनमा रोक लगाएको हो।
प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले सम्भावित बाढी, पहिरो र भूक्षयका जोखिमलाई ध्यानमा राख्दै रातिको समयमा यातायात बन्द गरिएको जानकारी दिए। प्रशासनले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीय उद्धार टोलीलाई सतर्क अवस्थामा राखिएको र तत्काल परिचालन गर्न सकिने व्यवस्था मिलाइएको पनि उनले बताए।
यस्तै, प्रशासनले सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक यात्रा नगर्न अनुरोध गरेको छ। बेंसीसहर–चामे–खाङ्सार सडकसहितका ग्रामीण सडकमा सवारी चलाउँदा आवश्यक सतर्कता अपनाउन र ट्राफिक प्रहरी तथा सुरक्षा निकायको निर्देशन पालना गर्न पनि आग्रह गरिएको छ।
मस्र्याङ्दी, नारखोला, दूधखोला, डोनाखोला र ठाडाखोलाजस्ता स्थानीय खोलामा पानीको सतह बढ्ने भएकाले आसपासका क्षेत्रमा उच्च सतर्कता आवश्यक हुने प्रशासनले जनाएको छ।