Join our Channel

सर्लाही र आसपासका बस्ती डुबानमा: कौडेनाको शिवनगर टोल टापुमा परिणत, हुलाकी सडक बाढीले बगायो

सर्लाही र आसपासका बस्ती डुबानमा: कौडेनाको शिवनगर टोल टापुमा परिणत, हुलाकी सडक बाढीले बगायो

दुई दिनदेखि परेको अविरल वर्षाका कारण सर्लाही र आसपासका क्षेत्रमा भीषण बाढीको संकट उत्पन्न भएको छ। लखनदेही खोलाको पानी गाउँभित्र पस्दा कौडेना गाउँपालिका–७ स्थित शिवनगर गाउँ टापुमा परिणत भएको हो।

स्थानीयका अनुसार लखनदेही खोलामा आएको बाढीले गाउँ चारैतिरबाट घेरेपछि बाहिरी सम्पर्क पूर्ण रूपमा टुटेको छ। विद्युत् आपूर्ति बन्द हुँदा सञ्चार र आवागमन समेत अवरुद्ध बनेको छ। सडक सञ्जाल बग्दा गाउँ पूर्ण रूपमा अलग्गिएको छ।

स्थानीय रजी अहमदका अनुसार गाउँका करिब ३ सयभन्दा बढी घरधुरीमध्ये बीचका २०–२५ घरबाहेक सबै घरहरू डुबानमा परेका छन्। स्थानीयहरू विद्यालय र मदरसामा शरण लिँदै छन् भने खान लगाउन समेत समस्या भएको बताइएको छ। अन्न र लत्ताकपडा सबै भिजेर नष्ट भएका छन्। राहतको पर्खाइमा गाउँलेहरू सुक्खा खाना खाएर गुजारा गरिरहेका छन्।

बाढी शनिबार राति ८–९ बजेतिर आएको थियो। स्थानीयहरूको सतर्कताका कारण मानवीय क्षति भने टारिएको छ। तर बाढीले धानबाली, घरका सामान र मत्स्यपालनमा ठूलो क्षति पुर्‍याएको छ।

सर्लाहीका १६ सयभन्दा बढी घर डुबानमा

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बागमती र लखनदेही खोलामा आएको बाढीले १ हजार ६ सय १९ घरहरू डुबानमा परेका छन्।
बलरा नगरपालिका–३ लक्ष्मीपुरमा मात्र ७ सय घरमा, वडा नं. १ छन्की टोलमा ५० घरमा र वडा नं. ५ मा १५० घरमा पानी पसेको छ।
मलंगवा नगरपालिका–५ भाडसरमा २ सय घर डुबानमा परेका छन् भने कौडेना गाउँपालिका–७ शिवनगरका ३५० देखि ४०० घरमा बाढी पसेको छ।

चक्रघट्टा गाउँपालिका–५ पडरियामा २० वटा कच्ची घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। हरिवन नगरपालिका चिनीमिल क्षेत्रमा ४० घर र बरहथवा नगरपालिका–७ डोमटोलमा १५ घर डुबानमा परेका छन्।

हुलाकी सडक बाढीले बगायो

कौडेना गाउँपालिका–३ मा रहेको हुलाकी सडक बाढीले बगाउँदा सर्लाहीको पश्चिमी क्षेत्र र सदरमुकाम मलंगवासँगको यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।
बाढीले विद्युत्का पोलहरू बगाएकोभारत जाने मुख्य नाका समेत जलमग्न भएको प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले जानकारी दिए।

उनका अनुसार बाढीको पानी अहिले घट्दै गएको छ तर कृषि र मत्स्यपालनमा ठूलो क्षति भएको छ। सुरक्षा संयन्त्र सक्रिय रहेकाले कुनै मानवीय क्षति नभएको बताइएको छ।

Leave a comment