Join our Channel

झापामा अहिलेसम्मकै ठूलो बाढी, ३५ सय परिवार विस्थापित

झापामा अहिलेसम्मकै ठूलो बाढी, ३५ सय परिवार विस्थापित

अविरल वर्षापछि आएको बाढीले झापा जिल्लामा यो वर्षकै सबैभन्दा ठूलो विपद् ल्याएको छ।
जिल्लाका ठूला नदीहरूमा २०७४ सालभन्दा पनि ठूलो बाढी आउँदा ३५ सय घरधुरीका १२ हजारभन्दा बढी मानिस विस्थापित भएका छन्।

शनिबार र आइतबार इलाम र झापामा १५० मिलिमिटरभन्दा बढी वर्षा हुँदा कनकाई, माई र मेची नदीहरू खतराको तह पार गरेका थिए।
जल तथा मौसम विज्ञान विभागका अनुसार कनकाईको जलस्तर ५.६१ मिटर पुगेको थियो — जसले २०७४ सालको ५.४ मिटर रेकर्डलाई समेत नाघेको छ।

नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालका अनुसार यस पटकको बाढीले झापा गाउँपालिका र गौरीगञ्ज गाउँपालिकामा सबैभन्दा बढी क्षति पुर्‍याएको छ।

बाढीले सयौं घर डुबानमा

कनकाई माई नदीले तटीय बस्तीहरूमा पस्दा झापा गाउँपालिका–१, २, र ७ वडाका मात्र करिब १५ सय घर डुबानमा परेका छन्।
यी वडाका ६ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

झापा–१ मिलन बस्तीका ८० घरका २०० जना मानिसलाई नेपाली सेनाको हेलिकप्टर र बोटमार्फत उद्धार गरिएको छ।
सभापति ढकालका अनुसार गाउँपालिकाभर पानीले डुबाएको क्षेत्र र भौतिक क्षति अत्यधिक छ।

विभिन्न पालिकामा विस्थापनको विवरण

  • शिवसताक्षी नगरपालिका–४ : ७ घर
  • शिवसताक्षी–५ : ५ घर
  • शिवसताक्षी–६ : २७ घर
  • शिवसताक्षी–७ : ८ घर
  • गौरीगञ्ज गाउँपालिका–१ : १४४ घर
  • अर्जुनधारा नगरपालिका–७ : १ घर
  • गौरीगञ्ज–२ : पिण्डलघुटुका २१ घर, आपगाँछीका २१ घर
  • गौरादह–५ : कटकपुर सुकुम्बासी बस्तीका ३१ घर
  • भद्रपुर–५ : देवीबस्तीका १२ घर, राई टोलका १५ घर

जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार बाढीमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्, जसको सनाखत हुन बाँकी छ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र रेडक्रसकर्मीहरू उद्धार तथा राहत कार्यमा निरन्तर जुटिरहेका छन्।

११ करोड रुपैयाँ बराबरको तटबन्ध क्षति

कनकाई नदीले गौरीगञ्ज गाउँपालिका–२ अन्तर्गत हुलाकी राजमार्गको दायाँ किनारमा करिब २०० मिटर तटबन्ध कटान गरेको छ।
यसले ११४ घर डुबानमा५०० हेक्टर धान खेतमा क्षति पुर्‍याएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार यसबाट करिब १० करोड रुपैयाँ बराबरको क्षति भएको छ।

त्यस्तै झापा गाउँपालिका–२ कुवाडीमा २०० मिटर तटबन्ध कटान हुँदा करिब ७५ लाख रुपैयाँ क्षति भएको छ।
मेची नदीले पनि स्पर संरचनाहरू भत्काउँदा करिब ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ।

एसियन हाइवे अवरुद्ध

झापाको निर्माणाधीन पूर्व–पश्चिम एसियन हाइवे पनि बाढीले अवरुद्ध बनाएको छ।
शिवसताक्षी–१० को भालु खोला र मेचीनगर–६ को काली खोलामा बनेका डाइभर्सन तथा कल्भर्ट बगाउँदा हाइवे शनिबार रातिदेखि बन्द छ।

भालु खोलामा करिब ३० मिटर, र काली खोलामा १५ मिटर वास आउट भएको काँकडभिट्टा–लौकही सडक आयोजना पूर्वी खण्डले जनाएको छ।
हाल सवारीसाधनलाई शिवसताक्षी–९ हुँदै माईधार मार्गबाट वैकल्पिक रुपमा सञ्चालन गर्न तयारी भइरहेको छ।

Leave a comment