
बलिउड अभिनेत्री शिल्पा शेट्टीमाथि ६० करोड भारु ठगीको आरोप लागेको छ। मुम्बई प्रहरीको आर्थिक अपराध शाखा (EOW) ले उनलाई करिब ५ घण्टा सोधपुछ गरेको भारतीय मिडियाले उल्लेख गरेका छन्। प्रहरीका अनुसार बयान शिल्पाको घरमै गएर लिइएको हो।
शिल्पाका पति तथा व्यवसायी राज कुन्द्रा पनि यसै मुद्दामा आरोपित छन्। उनको समेत दुई पटक बयान लिइसकिएको मुम्बई प्रहरीले पुष्टि गरेको छ।
ठगीको आरोप के हो?
मुम्बईका व्यापारी दीपक कोठारीले शिल्पा र राज कुन्द्रा दम्पतीमाथि ६०.४८ करोड भारु (करिब ९६ करोड नेपाली रुपैयाँ) ठगीको आरोप लगाएका छन्।
उनका अनुसार सन् २०१५ देखि २०२३ को बीचमा उनले आफ्नो व्यापार विस्तारका लागि शिल्पा–राजलाई सो रकम दिएको थिए। तर, उक्त रकम उनीहरूले आफ्ना निजी खर्चका लागि प्रयोग गरेको दाबी व्यापारी कोठारीले गरेका छन्।
ब्याजसहित फिर्ता नपाएको दाबी
कोठारीका अनुसार, उनले सुरुमा १२ प्रतिशत ब्याजदरमा ७५ करोड भारु ऋण दिएका थिए। करबाट बच्नको लागि लगानीका रूपमा देखाइएको थियो।
- अप्रिल २०१५ मा: ३१.९५ करोड
- सेप्टेम्बर २०१५ मा: २८.५३ करोड
तर, उक्त रकम ब्याजसहित फिर्ता नपाएको र सम्झौता पूरा नभएको कोठारीको भनाइ छ।
अनुसन्धानमा शिल्पाको नाम कसरी जोडियो?
अनुसन्धानका क्रममा ठगी गरिएको रकमको एक हिस्सा शिल्पा शेट्टीको बैंक खातामा जम्मा भएको प्रमाण फेला परेपछि प्रहरीले उनको बयान लिएको हो।
शिल्पाले भने सन् २०१६ सेप्टेम्बरमा कम्पनीको निर्देशक पदबाट राजीनामा दिएकी थिइन्।
वर्तमान अवस्था
शिल्पा र राज दुबै जनाले आरोप अस्वीकार गर्दै आफूहरू निर्दोष रहेको बताएका छन्। मुम्बई प्रहरीले भने घटनाको विस्तृत अनुसन्धान जारी राखेको जनाएको छ।