
डोटीमा आज बिहान भएको ईभी हाइस दुर्घटनामा एक जनाको मृत्यु र आठ जना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार दुर्घटना जोरायल गाउँपालिका–१ गोल्डेनस्थित भिमदत्त राजमार्गमा आज बिहान करिब ५:३५ बजे भएको हो।
अछामबाट धनगढीतर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ ख ३९५६ नम्बरको ईभी हाइस अचानक अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको हो।
दुर्घटनामा अछाम मङ्गलसेन नगरपालिका–९ की २२ वर्षीया हरिया परियारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यस्तै ८ जना गम्भीर घाइते भएका छन् भने १० जना सवारी यात्रु सामान्य घाइते भएका छन्। सबै घाइतेहरूको उद्धार गरी कैलाली अत्तरियास्थित पद्मा अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
गम्भीर घाइते हुनेहरूमा अछाम मङ्गलसेन नगरपालिका–९ का लोकेन्द्र रावल, एकेन्द्र बिक, मोतिकला परियार, बिराज परियार, भिम ब. ढोली, सृष्टी परियार, बिनोद परियार र मनसरी परियार रहेका छन्।
प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान अघि बढाएको छ। प्रारम्भिक जानकारीअनुसार, सवारी अचानक ब्रेक फेल भएर सडकबाट तल खसेको हुनसक्ने अनुमान गरिएको छ।