
हतियार बोकेको भिडियो सार्वजनिक भएपछि प्रहरी नियन्त्रणमा आएका टीओबी (Tibetan Original Blood) समूहका लिडर तेन्जिन दावा लामाको जन्मदर्ता कागजात शंकास्पद देखिएको छ।
काठमाडौं प्रहरी परिसरका अनुसार दावाले बुझाएको जन्मदर्ता प्रमाणपत्रमा नेपाल सरकार र श्री ५ को सरकार दुवै छाप प्रयोग भएको पाइएपछि छानबिन सुरु गरिएको हो। उनले सार्वजनिक गरेको प्रमाणपत्रमा २०६३ साल फागुन १० गते दर्ता भएको उल्लेख छ, तर सो मिति शनिबार परेको पाइएकाले त्यसदिन सरकारी कार्यालय खुल्ने प्रश्नले शंका झन् गहिरिएको छ।
प्रहरी अधिकारीका अनुसार शनिबारका दिन दर्ता भएको जन्मदर्ता नक्कली हुनसक्ने आशंका गरिएको छ। एउटै प्रमाणपत्रमा दुईवटा सरकारका छाप हुनु पनि अनौठो रहेको बताइएको छ। दावाको जन्मदर्ता अनुसार उनका बुबाको नाम कृष्णबहादुर लामा र आमाको नाम माया लामा उल्लेख भए पनि ठेगाना भने खुलाइएको छैन।
दावा २०५३ साल माघ २१ गते काठमाडौं–६ बौद्धमा जन्मिएको र २०६३ चैत १२ गते काठमाडौं महानगरपालिकामा दर्ता भएको कागजातमा देखिन्छ — तर सो मिति पनि शनिबारकै दिन परेको हो।
काठमाडौं प्रहरी प्रमुख रमेश थापाका अनुसार, बिजुलीबजार नजिकको धोबीखोला पुलमा हतियारसहितको भिडियो सार्वजनिक भएपछि उनलाई नियन्त्रणमा लिइएको हो। दावाको साथबाट बरामद गरिएको हतियार परीक्षणका लागि पठाइएको छ भने, उनको कोठाबाट भेटिएका अन्य कागजातहरू पनि सन्दिग्ध प्रकृतिका रहेको प्रहरीको भनाइ छ।
प्रहरीले आशंका गरेको छ कि, दावाले नक्कली कागजात प्रयोग गरी नेपालको नागरिकता लिएको हुनसक्छ। उनले नेपालमा बसेर ‘फ्रि तिब्बत’ र चिन विरोधी अभियान सञ्चालन गरिरहेको पनि अनुसन्धानमा खुल्न सक्छ भन्ने प्रहरीको अनुमान छ।
प्रवक्ता पवन भट्टराईका अनुसार, दावाको जन्मदर्ता, नागरिकता र अन्य कागजात स्थानीय वडामा परीक्षणका लागि पठाइएको छ। रिपोर्ट आएपछि मात्रै थप विवरण खुल्ने उनले बताए।
‘जेनजी आन्दोलन’का क्रममा टीओबी लेखिएको ज्याकेट लगाएर सहभागी भएका दावासहित करिब ५०–६० जना सदस्य हाल प्रहरीको निगरानीमा रहेका छन्। अदालतले दावालाई अनुसन्धानका लागि ६ दिनको म्याद दिएको छ।
दावाले भने सामाजिक सञ्जालमा चर्चित भएको उक्त फोटो र भिडियो म्युजिक भिडियो सुटिङका क्रममा खिचिएको बताएका छन्। तर प्रहरी स्रोतले यो दृश्य हालैको जेनजी प्रदर्शन र तोडफोड घटनासँग सम्बन्धित हुनसक्ने अनुमान गरेको छ।