Join our Channel

भाइ मसलाको मूल्य दोब्बर: तिहारअघि उपभोक्ता मर्कामा, बजारमा असनदेखि कालीमाटीसम्म हाहाकार

भाइ मसलाको मूल्य दोब्बर: तिहारअघि उपभोक्ता मर्कामा, बजारमा असनदेखि कालीमाटीसम्म हाहाकार

उज्यालो पर्वको रूपमा मनाइने तिहार सुरु भएसँगै भाइ मसला किनमेलमा चहलपहल बढेको छ। तर, यस वर्ष उपभोक्ताहरूका लागि खुशीभन्दा बढी चिन्ता छ — किनकि भाइ मसलाको मूल्य पोहोरको भन्दा दोब्बर बढेको छ।

प्रत्येक वर्ष तिहारमा दिदी–बहिनीहरूले दाजुभाइलाई टीका लगाएर उपहारस्वरूप भाइ मसला दिने चलन छ। सुकुमेल, सुपारी, बदाम, काजु, किसमिस, मखाना, मरमरी, सुठो, चकलेट र मिष्ठान्न जस्ता वस्तुहरू मिसाएर बनाइने यो मसलाको मूल्य यस वर्ष निकै बढेको व्यापारीहरूले जनाएका छन्।

काठमाडौंका असन, इन्द्रचोक, खल्टे र कालीमाटी बजारमा अहिले मसला किन्नेहरूको भिड छ। धापासीकी राज्य लक्ष्मी भन्छिन्, “गत वर्षको तुलनामा सामानमा डबल मूल्य बढेको छ। तिहारको सामान किन्न आउँदा खर्च दोगुना भयो।” भक्तपुरकी सुनिता खत्री र बबिता बस्नेत पनि यस वर्षको मूल्यवृद्धिले आफूहरूलाई किनमेलमा समस्या भएको बताउँछन्।

व्यवसायीहरूका अनुसार, मसला उत्पादन घट्नु र आयात लागत बढ्नु मूल्य वृद्धिको प्रमुख कारण हो। असनका पुराना व्यापारी चन्द्र श्रेष्ठका अनुसार भारतबाट आउने मसला महँगिँदा खुद्रा मूल्यमा १०–१५ प्रतिशत वृद्धि भएको छ। “पहिलाभन्दा काजु, मखाना र ओखर महँगिएका छन्,” उनले भने, “माग पनि करिब २० प्रतिशतले घटेको छ।”

राजेन्द्र ओली भन्छन्, “पहिलाजस्तो व्यापार छैन, मूल्य बढ्यो, बिक्री घट्यो। अहिले अनलाइन अर्डर बढेको छ, पसलमा ग्राहक कम आएका छन्।” असनकी सुवर्णा श्रेष्ठका अनुसार प्याक गरिएको ‘भाइ मसला सेट’ किन्नेको संख्या बढेको छ, तर व्यापार भने सुस्त छ।

काठमाडौं भन्सार विभागका अनुसार, चालु आर्थिक वर्षको असोज महिनासम्म मात्रै १ अर्ब ६२ करोड ९८ लाख रुपैयाँ बराबरका भाइ मसला सामग्री आयात भएका छन्। यो रकम गत वर्षको सोही अवधिको भन्दा उल्लेख्य रूपमा बढी हो।

तिहार नजिकिँदै गर्दा बजारमा मूल्य वृद्धि, उपभोक्ताको गुनासो र व्यापार घट्दो क्रममा देखिएको छ। व्यवसायीहरूले सरकारले मूल्य नियन्त्रणका लागि निगरानी बढाउनुपर्ने सुझाव दिएका छन्।

Leave a comment