Join our Channel

कैलालीमा ७३ लाखभन्दा बढी सुरक्षा भत्ता घोटाला: मृत व्यक्तिका नाममा रकम वितरण

कैलालीमा ७३ लाखभन्दा बढी सुरक्षा भत्ता घोटाला: मृत व्यक्तिका नाममा रकम वितरण

कैलाली जिल्लामा मृत व्यक्तिका नाममा सामाजिक सुरक्षा भत्ता वितरण गरी ७३ लाखभन्दा बढी अनियमितता भएको खुलासा भएको छ।

जानकी गाउँपालिका–९ का वडाध्यक्ष खकेन्द्र भण्डारीसहित आठ जना व्यक्तिमाथि सामाजिक सुरक्षा भत्ता दुरुपयोग गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो।

अख्तियारका अनुसार, मृत व्यक्तिहरूको नाममा समेत भत्ता वितरण गरिएको र एकै व्यक्तिको नाम र नागरिकता नम्बर प्रयोग गरी दोहोरो भत्ता वितरण गरिएको प्रमाण भेटिएको छ।

प्रतिवादीहरूमा वडाध्यक्ष भण्डारीसँगै वडासचिव प्रेमबहादुर बुढा, वडासदस्यहरू कल्पना खड्का, सुनकोसा सार्की, विजयबहादुर रावल, शेरबहादुर विश्वकर्मा, खरिदार पूर्णबहादुर विष्ट, र कार्यालय सहयोगी सोनम कठरिया रहेका छन्।

अख्तियारको अनुसन्धानमा वडाध्यक्ष भण्डारी, वडासचिव बुढा र कार्यालय सहयोगी कठरियाले आपसी मिलेमतोमा मृत व्यक्तिहरूको विवरण नवीकरण गरी सामाजिक सुरक्षा भत्ता वितरण गरेको पाइएको छ।

अनुसन्धान अनुसार, वडासचिव बुढाले स्वयंले मृत लाभग्राहीहरूको औंठाछाप ४७९ पटक नक्कली रूपमा लगाएको र कार्यालय सहयोगी कठरियाले २०४ वटा औंठाछाप नक्कली रूपमा प्रयोग गरेको प्रमाणित भएको छ। यो तथ्य राष्ट्रिय विधिविज्ञान प्रयोगशालाको परीक्षणबाट पुष्टि भएको हो।

कुल ६८३ जना लाभग्राहीको खाताबाट २१ लाखभन्दा बढी रकम नक्कली औंठाछापमार्फत निकालिएको र कठरियाको औंठाछाप प्रयोग गरी ७ लाख ८१ हजार रुपैयाँ भुक्तानी भएको भेटिएको छ।

त्यस्तै, मृत्यु दर्ता भइसकेका व्यक्तिहरूको नामबाट नवीकरण गरी १५ लाख ५० हजार रुपैयाँ, दोहोरिएको नागरिकता नम्बर प्रयोग गरी १ लाख ७८ हजार रुपैयाँ, र नवीकरण नगरिएका खाताबाट १३ लाखभन्दा बढी रकम अपचलन भएको देखिएको छ।

अख्तियारका अनुसार, सरकारी रकम हिनामिना गर्न नक्कली दस्तखत, औंठाछाप र झुटा मुचुल्का तयार गरी रकम वितरण प्रमाणित गराइएको थियो। वडाध्यक्ष भण्डारीसहित सबै प्रतिवादीले झुट्टा प्रमाणपत्र र गलत प्रतिवेदन तयार गरी सरकारी सम्पत्ति हिनामिना गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरिएको छ।

Leave a comment