Join our Channel

तिहार–छठमा केराका थाम बने सुनको थाम: मिथिला किसानको हजारौं कमाइ

तिहार–छठमा केराका थाम बने सुनको थाम: मिथिला किसानको हजारौं कमाइ

मिथिला क्षेत्रमा मनाइने तिहार र छठ पर्वले किसानका लागि सुनको अवसर बनेको छ। यी पर्वमा केराका फल र थाम (कोथा) को प्रयोग अनिवार्य हुने भएकाले किसानले यस समयमा लोभलाग्दो आम्दानी गर्ने अवसर पाएका छन्।

मधेसको महोत्तरीसहित मिथिला क्षेत्रमा कृषिमैत्री संस्कृतिका कारण तिहार र छठमा कृषि उपजको प्रयोग विशेष महत्व राख्छ। तिहारमा लक्ष्मीपूजाका लागि व्यापारिक प्रतिष्ठानहरूले केराका थामबाट स्वागतद्वार बनाउने चलन छ भने छठ पर्वमा सूर्यदेवलाई अर्घ दिने बेला केराका घरी अनिवार्य रूपमा प्रयोग हुने परम्परा छ।

यसले गर्दा तिहार सुरु हुनुअघि नै केराका थामको बजार गर्मी छ। व्यापारीहरूले अग्रिमै किसानलाई रकम बुझाउने र किसानले त्यो पैसाले अन्य पर्व सामग्री किन्न प्रयोग गर्ने गरेका छन्।

भँगाहा–४ का किसान रामधारीसिंह थारू भन्छन्, “मैले थामबापत बैना रकम पाँच हजार लिएको छु। हाम्रा लागि तिहारको समय नै प्रतिक्षित कमाइको बेला हो।”

त्यस्तै, किसान रामसुनरदेवी राय भन्छिन्, “पहिले धेरै कोथा भए फाल्नुपर्थ्यो, अहिले त सबै बिक्छन्। यसपालि कोथा बेचेर फाल्ने खर्च पनि बचेको छ।”

किसानहरूले एक झ्याङबाट तीनभन्दा बढी कोथा राख्दा फल राम्रो नहुने बताए। तर, तिहार–छठको बेला भने उखालेर फाल्ने कोथासमेत बिक्री हुने भएकाले यो समय उनीहरूका लागि ‘केराको अमृत बेलो’ बनेको छ।

भँगाहा–६ का किसान सुवालाल राय यादवका अनुसार, पछिल्ला तीन वर्षदेखि उनले केवल कोथा बिक्री गरेर तिहारमा १० हजार रुपैयाँसम्म आम्दानी गर्दै आएका छन्।

मिथिला क्षेत्रमा केराका थामको बजार लक्ष्मीपूजाको अघिल्लो दिनदेखि नै चल्ने गरेको छ। जलेश्वर, गौशाला, बर्दिबास, मटिहानी, रामगोपालपुर, मनरा र पिपरासहितका बजार क्षेत्रमा केराका थाम किनबेच हुने मेला लाग्छ।

मटिहानीस्थित लक्ष्मीनारायण मठका महन्थ डा. रवीन्द्रदास वैष्णवका अनुसार, वैदिककालदेखि नै केराका थामबाट बनेको स्वागतद्वार शुभ र समृद्धिको प्रतीक मानिन्छ। यही परम्परा आजसम्म मिथिला संस्कृतिको अभिन्न अंग बनेको उनले बताए।

कृषि ज्ञान केन्द्रका अनुसार, जिल्लामा २८० हेक्टरमा मात्र व्यावसायिक केराखेती भइरहेको छ। कृषिविज्ञ अविरलकुमार महतोले भने, “महोत्तरीको हावापानी र माटो केराखेतीका लागि अत्यन्त उपयुक्त छ। किसानले इच्छाशक्ति देखाए, हामीले प्राविधिक र बिरुवा सहयोग गर्न तयार छौं।”

Leave a comment