
आज नेपालभर कुकुर तिहार हर्षोल्लासका साथ मनाइँदैछ। यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन पर्ने यो पर्व यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
कात्तिक कृष्ण चतुर्दशीका दिन, कुकुरलाई माला, टीका र मीठा परिकार अर्पण गरेर पूजा गर्ने परम्परा छ। धार्मिक विश्वास अनुसार, यमराजका ढोकामा श्याम र सबल नामका दुई कुकुर द्वारपालका रूपमा बस्ने गर्छन्। यस दिन कुकुरलाई पूजा गरे यमलोकको बाटोमा कुनै बाधा नपर्ने मानिन्छ।
पुराणका अनुसार, धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा साथ दिने पनि कुकुर नै थियो। त्यसैले कुकुरलाई आज्ञाकारी, निष्ठावान् र सुरक्षामा भरपर्दो जनावरका रूपमा सम्मान गरिन्छ।
आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ। बिहानै तीर्थ, नदी वा तलाउमा स्नान, तर्पण र दीपदान गर्ने चलन छ। धार्मिक विश्वास अनुसार, यस दिन बत्ती बालेर “नरके बगाउने” गर्नाले मृत्यु पश्चात् नरकको दर्शन गर्नु नपर्ने मान्यता छ।
यस वर्ष तिथि घटबढका कारण कुकुर पूजा र लक्ष्मी पूजा दुवै आजकै दिन परेको छ। बिहान कुकुरलाई पूजा गरी सम्मान गरिन्छ भने साँझ देवी लक्ष्मीको आराधना गरी घर–घरमा दीपावली गर्ने तयारी गरिएको छ।