Join our Channel

आज साँझ लक्ष्मीपूजा: धन र समृद्धिको आराधना, शुभसाइत कति बेला?

आज साँझ लक्ष्मीपूजा: धन र समृद्धिको आराधना,  शुभसाइत कति बेला?

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन, आज साँझ धन, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी मनाइँदै छ। नेपालभरका घरघरमा आज साँझ दीपावली गरेर देवी लक्ष्मीको स्वागत गर्न तयारी भइरहेको छ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार, यस वर्षको लक्ष्मीपूजाको शुभसाइत बेलुकी ७:०८ बजेदेखि ८:१८ बजेसम्म रहेको छ। यो समयमा पूजा आरम्भ गर्न शुभ मानिन्छ।

आज बिहानैदेखि घरघरमा सरसफाइ, लिपपोत र सजावट गरेर लक्ष्मीलाई आमन्त्रण गर्न तयारी गरिएको छ। झ्याल, ढोका, कोठा, संघार, अटाली, कौसी र भर्याङमा दीपावली गरेर घरलाई उज्यालो र आकर्षक बनाइन्छ।

कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्री पनि भनिन्छ। आजको दिन आँगनदेखि मूलढोका हुँदै पूजाकोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरी चामलको पीठो र अबिरले लक्ष्मीका पाइला बनाइन्छ। यी पाइला लक्ष्मीको आगमनको प्रतीक मानिन्छ।

दीप प्रज्ज्वलनपछि पूजाकोठामा लक्ष्मी, गणेश र कलश स्थापना गरी गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाएर विधिपूर्वक पूजा गरिन्छ।

पूजा पश्चात् कन्या केटी र छोरीचेलीलाई लक्ष्मीको प्रतिक मानी पूजा गरी दक्षिणा दिने परम्परा छ। जनविश्वासअनुसार, लक्ष्मीपूजा गरेपछि घरबाट धन वा मूल्यवान वस्तु बाहिर पठाए लक्ष्मी बाहिर जान्छिन्, त्यसैले आजको दिन घरमा सम्पत्ति बाहिर पठाउन निषेध गरिएको छ।

Leave a comment