
सुस्तापूर्वमा पछिल्ला दुई महिनामा जापानिज इन्सेफलाइटिस (Japanese Encephalitis) संक्रमण बढ्दै गएको छ।
प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरका अनुसार गत साउन २० देखि असोजसम्मको अवधिमा यो रोगका कारण ४ जनाको मृत्यु भएको पुष्टि भएको छ।
मृतकहरूमा हुप्सेकोट गाउँपालिका–१ की १३ वर्षीया बालिका, बौदिकाली गाउँपालिका–२ की ४५ वर्षीया महिला, मध्यविन्दु नगरपालिका–१ पतवारीका ५२ वर्षीय पुरुष, र कावासोती–३ का ६७ वर्षीय पुरुष रहेका छन्।
उनीहरू उपचारका लागि भरतपुर लैजाँदा ढाडको पानी परीक्षण (CSF test) गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको थियो, जहाँबाट जापानिज इन्सेफलाइटिस पुष्टि भएको रिपोर्ट आएको जनाइएको छ।
हालसम्म जिल्लामा १४ जनामा संक्रमण पुष्टि भएको छ। तिनीहरूमध्ये ९ जना पूर्ण रूपमा निको, १ जना उपचाररत, र ४ जनाको मृत्यु भएको हो।
संक्रमितहरू मध्ये कावासोती नगरपालिका–६ जना, मध्यविन्दु–४ जना, र हुप्सेकोट, बौदिकाली, गैँडाकोट र देवचुली नगरपालिकाका १/१ जना रहेका छन्।
स्वास्थ्यकर्मीहरूका अनुसार संक्रमितहरूलाई घरमै निगरानीमा राखिएको छ।
प्रदेश जनस्वास्थ्य कार्यालयका तिवारीका अनुसार जापानिज इन्सेफलाइटिस क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट सर्ने मस्तिष्कसम्बन्धी रोग हो।
यो लामखुट्टे विशेष गरी साँझ र बिहानको झिसमिसे समयमा सक्रिय हुने गर्छ।
यो रोग सुँगुर, कुखुरा र हाँसजस्ता जनावरहरूबाट संक्रमण बोकेका लामखुट्टेले मानिसलाई टोकेपछि सर्ने गर्दछ।
गत आर्थिक वर्ष २०८१/८२ मा यस रोगबाट ३ जना संक्रमित मात्रै भेटिएका थिए भने यस वर्ष संक्रमण दर तीव्र रूपमा बढेको स्वास्थ्य निकायले जनाएको छ।