
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हंगेरीमा प्रस्तावित ट्रम्प–पुटिन बैठकमा भाग लिन तयार रहेको बताएका छन्।
गत हप्ता बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच फोनमा संवाद भएको थियो। त्यसपछि दुई नेताहरू चाँडै हंगेरीको राजधानी बुडापेस्टमा युक्रेन युद्धबारे छलफल गर्न भेट्ने घोषणा गरेका थिए।
सोमबार पत्रकारहरूसँग कुरा गर्दै जेलेन्स्कीले भने, “यदि मलाई बैठकमा आमन्त्रित गरियो र हामी तीनै जना भेट्न सक्छौं वा तेस्रो पक्षको सहायतामा छलफल गर्न सकिन्छ भने हामी सहमत हुन तयार छौं।”
यसैबीच, केही मिडियाले ट्रम्प र जेलेन्स्कीबीच शुक्रबार ह्वाइट हाउसमा भेटवार्ता भएको दाबी गरेका छन्। अमेरिकी पक्षले जेलेन्स्कीलाई रूसका सर्तहरू स्वीकार गरेर युद्ध अन्त्य गर्ने प्रयास गर्न आग्रह गरेको बताइएको छ।
बैठकपछिको पहिलो प्रेस ब्रिफिङमा जेलेन्स्की सतर्क देखिए। उनका भनाइले धेरै मुद्दामा दुई पक्षबीच गहिरो मतभेद रहेको देखाउँछ। उनले ट्रम्पलाई आफ्नो उद्देश्य तत्काल शान्ति नभइ न्यायपूर्ण शान्ति सुनिश्चित गर्नु रहेको बताए।
यसअघि जेलेन्स्कीले हंगेरीलाई बैठकको स्थानको रूपमा चयन गर्नुको आलोचना गर्दै भनेका थिए, “हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानलाई धेरै युक्रेनी र यूरोपेली नेताहरू रूसको सहयोगी मान्छन्। उनी युक्रेनका जनताका लागि सकारात्मक योगदान दिन सक्दैनन्।”