Join our Channel

बक्यौता नतिर्ने ६ उद्योगको विद्युत् लाइन काटियो, तीन सिमेन्ट उद्योग समावेश

बक्यौता नतिर्ने ६ उद्योगको विद्युत् लाइन काटियो, तीन सिमेन्ट उद्योग समावेश

बक्यौता विद्युत् महसुल नतिरेको कारण छ वटा उद्योगको विद्युत् लाइन काटिएको छ।
विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, शिवम सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट र त्रिवेणी स्पिनिङ मिल्सको विद्युत् लाइन आज बिहानबाट काटिएको हो।

यी उद्योगहरूले डेडिकेटेड र ट्रंकलाइनमार्फत् उपभोग गरेको विद्युत् महसुल बक्यौता तिर्न असफल भएको कारण लाइन काटिएको प्राधिकरणले जनाएको छ।

डेडिकेटेड–ट्रंकलाइन महसुल बक्यौता सम्बन्धी विवाद २०७५ सालदेखि समाधान हुन सकेको छैन। तत्कालीन प्राधिकरण सञ्चालक भक्तबहादुर पुनको संयोजकत्वमा बक्यौता अध्ययन गरिएको थियो र २०७५ वैशाख ३१ मा सञ्चालक समितिमा पेश गरिएको थियो।

उद्योगी–व्यवसायीहरूले भने डेडिकेटेड वा ट्रंकलाइन प्रयोग नगरेको दाबी गर्दै बक्यौता नतिर्ने तर्क राखेका थिए। यस विषयले विभिन्न अदालत, सङ्घीय संसद्को सार्वजनिक लेखा समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म ध्यानाकर्षण पाएको थियो।

प्राधिकरणले गत असोज १२ गते सार्वजनिक सूचना जारी गर्दै उद्योगलाई २१ दिनभित्र बक्यौता बुझाउन निर्देशन दिएको थियो। म्यादभित्र तिर्न नआएपछि विद्युत् महसुल सङ्कलन नियमावली २०७८ अनुसार विद्युत् लाइन काटिएको हो।

यसअघि डेडिकेटेड–ट्रंकलाइनमार्फत् २०७२ माघदेखि २०७५ वैशाखसम्म बक्यौता रहेको ग्राहकहरूले प्रशासकीय पुनरावलोकनको लागि २०८२ जेठ मसान्तभित्र निवेदन दिन सक्ने म्याद तोकिएको थियो। प्राधिकरणको सञ्चालन समितिले गत असोज १० गते सम्पूर्ण प्रशासकीय पुनरावलोकन प्रक्रिया रद्द गर्ने निर्णय गरेको थियो।

Leave a comment