Join our Channel

मुस्ताङ भन्सारको राजस्व तीन अर्ब नाघ्यो, कोरला नाकाबाट व्यापार फस्टाउँदै

मुस्ताङ भन्सारको राजस्व तीन अर्ब नाघ्यो, कोरला नाकाबाट व्यापार फस्टाउँदै

नेपाल–चीन सीमास्थित कोरला नाका पूर्ण रूपमा सञ्चालनमा आएपछि मुस्ताङ भन्सार कार्यालयले उल्लेखनीय राजस्व संकलन गरेको छ।
भन्सार कार्यालयका अनुसार, तीन अर्ब एक करोड ४४ लाख ३६ हजार रुपैयाँ राजस्व संकलन भएको छ।

गत भदौ ३१ गतेबाट कोरला नाका पूर्ण रूपमा व्यापारिक मार्गका रूपमा सञ्चालनमा आएको हो। त्यसयता चीनबाट आयात–निर्यात बढ्दै गएको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ।

भन्सार प्रमुख रमेश खड्काका अनुसार, हालसम्म ६६४ मालवाहक कन्टेनरको जाँचपास भइसकेको छ।
तीमध्ये ६५७ कन्टेनर चीनबाट आयात भएका हुन् भने सात कन्टेनर नेपालतर्फबाट चीन निर्यात भएका छन्।

चीनबाट आयात, नेपालबाट निर्यात

कोरला नाकामार्फत चीनबाट आयात गरिएका सामानमा दसैं–तिहार लक्षित रेडिमेड लत्ताकपडा, कस्मेटिक र इलेक्ट्रोनिक वस्तुहरू प्रमुख रहेका छन्।
नेपालतर्फबाट भने हस्तकला सामग्री र स्थानीय उत्पादन निर्यात गरिएको भन्सार प्रमुख खड्काले जानकारी दिए।

विद्युतीय सवारीको आयात बढ्दो

भन्सार कार्यालयका अनुसार, हालसम्म कोरला नाका हुँदै एक हजार ४९८ वटा विद्युतीय कार (EV) भन्सार पास भई नेपाल भित्रिएका छन्।

कोरला नाकाको चुनौती र सम्भावना

कोरला नाका ४,६१० मिटरको उचाइमा रहेकोले यहाँको व्यापारमा हिउँदमा चुनौती रहने बताइन्छ।
भन्सार प्रमुख खड्काका अनुसार, अत्यधिक चिसोका कारण ढुवानीका साधनमा इन्धन जम्ने, इन्जिन स्टार्ट नहुने र धकेलेर तल झार्नुपर्ने समस्या देखिने गरेको छ।

पूर्वाधार सुधारको आवश्यकता

नाकालाई वर्षभर सञ्चालन गर्न सडक सुधार, पूर्वाधार निर्माण र ऊर्जा व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको अधिकारीहरूको भनाइ छ।
भन्सार विभागले यस नाकालाई तातोपानी र रसुवागढी अवरुद्ध भएपछि वैकल्पिक व्यापारिक मार्गका रूपमा सञ्चालनमा ल्याएको हो।

यसबाहेक मुस्ताङ भन्सार कार्यालयलाई अनलाइन भन्सार आशिकुडा प्रणालीमा जोडिएको छ र अब व्यापारीहरूले एलसी (भन्सार प्रतितपत्र) पनि खोल्न पाउने व्यवस्था गरिएको छ।

कोरला नाका २०८० कात्तिक २७ गतेदेखि उपल्लो मुस्ताङका नागरिकका लागि घरायसी किनमेलका उद्देश्यले वर्षभर खुला गरिएको थियो।
त्यसबेला चीनले विशेष रूपमा नाका खुला घोषणा गरेको थियो, जसअनुसार मुस्ताङका नागरिकले सीमापार पास देखाएर नेचुङ–लिजीसम्म प्रवेश गर्न सक्ने व्यवस्था गरिएको छ।

Leave a comment