Join our Channel

आजबाट सुरु भयो नेपाल संवत् ११४६ : नेवार समुदायले नयाँ वर्षको रूपमा उत्सवपूर्वक मनाउँदै

आजबाट सुरु भयो नेपाल संवत् ११४६ : नेवार समुदायले नयाँ वर्षको रूपमा उत्सवपूर्वक मनाउँदै

आजबाट नेपाल संवत् ११४६ सुरु भएको छ। देशभर विविध सांस्कृतिक कार्यक्रम आयोजना गरी नेवार समुदायले यस संवतलाई नयाँ वर्षका रूपमा उत्सवपूर्वक मनाइरहेका छन्।

राष्ट्रिय विभूति शंखधर साख्वाले वि.सं. ९३७ (ई.सं. ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवतको सुरुवात गराएका थिए। नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको इतिहासकार तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा. त्रिरत्न मानन्धर बताउँछन्।

उनका अनुसार, “लिच्छविकालका राजा राघवदेवको शासनकालमा सुरु भएको नेपाल संवत पृथ्वीनारायण शाहसम्म मौलिक संवतका रूपमा चल्दै आएको हो। लिच्छविकालअघि शक संवत प्रचलनमा थियो। नेपाल देशकै नामबाट राखिएकाले यो मौलिक राष्ट्रिय संवत हो।”

वि.सं. २००७ मा प्रजातन्त्रको स्थापना भएपछि नेपाल संवतलाई राष्ट्रिय मान्यता दिलाउन अभियान थालिएको थियो। आज पनि काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वर लगायतका क्षेत्रहरूमा बसोबास गर्ने नेवार समुदायले विशेष कार्यक्रमहरू गरी नयाँ वर्ष मनाउने परम्परा जीवित छ।

गरिब जनताको ऋणमोचन गरी सामाजिक सेवाको उत्कृष्ट उदाहरण प्रस्तुत गरेका शंखधर साख्वालाई वि.सं. २०५६ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले राष्ट्रिय विभूति घोषणा गरेका थिए। त्यसपछि वि.सं. २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवतलाई राष्ट्रिय मान्यता दिने घोषणा गरेका थिए।

अहिले पनि कार्तिक कृष्ण औँसीका दिन पुरानो बहीखाता बन्द गरी कार्तिक शुक्ल प्रतिपदादेखि नयाँ बहीखाताको सुरुवात गर्ने परम्परा काठमाडौं उपत्यकामा जीवित छ।

Leave a comment