Join our Channel

गृह मन्त्रालयको आग्रह: धर्ना–प्रदर्शन नगर्नू, घुसपैठबाट अराजकता निम्तिन सक्ने चेतावनी

गृह मन्त्रालयको आग्रह: धर्ना–प्रदर्शन नगर्नू, घुसपैठबाट अराजकता निम्तिन सक्ने चेतावनी

गृह मन्त्रालयले देशभर धर्ना, जुलुस, विरोध प्रदर्शनलगायतका आन्दोलनका कार्यक्रम नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्ति र समूहका नाममा प्रदर्शनका कार्यक्रम सार्वजनिक भइरहेको जानकारीमा गम्भीर ध्यानाकर्षण भएको बताएको छ।

मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “देशमा शान्ति–सुरक्षा कायम राख्दै निर्धारित मितिमा स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सबैको योगदान आवश्यक छ।”

विज्ञप्तिमा उल्लेख छ कि गत भदौ २३ र २४ गते भएको प्रदर्शनपछि सरकारले सार्वजनिक सेवा पुनः सुचारु गरेको र क्षतिग्रस्त संरचनाको पुनर्निर्माण प्रक्रिया सुरु भइसकेको छ। हाल सामाजिक सञ्जालमार्फत पुनः धर्ना, जुलुस र आन्दोलनका कार्यक्रमहरू सार्वजनिक भइरहेका विषयमा मन्त्रालयले चिन्ता व्यक्त गरेको छ।

गृह मन्त्रालयका अनुसार देशमा अस्थिरता फैलाउने स्वार्थ समूहहरूले यस्ता आन्दोलनमा घुसपैठ गरी अराजकता निम्त्याउने सम्भावना रहेको हुँदा आयोजकहरू सचेत रहनुपर्ने आवश्यकता छ।

मन्त्रालयले थप जनाएको छ कि सरकार आगामी फागुन २१ गते तय भएको निर्वाचनको तयारीमा केन्द्रित रहेको छ। सरकारले हाल निर्वाचनसम्बन्धी कानुन संशोधन, स्रोत र साधनको व्यवस्था तथा राजनीतिक दलहरू र सरोकारवालासँग संवाद अघि बढाइरहेको जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, “जनताको शान्तिपूर्ण जीवन, निर्बाध सार्वजनिक सेवा र निष्पक्ष निर्वाचनको अधिकार सुनिश्चित गर्न धर्ना, प्रदर्शनका कार्यक्रम नगरी वार्ता र संवादको बाटोबाट मागहरू अघि बढाउन सबैलाई अनुरोध छ।”

सरकारले हरेक नागरिकको जायज माग र सरोकार सम्बोधनमा तत्पर रहेको र शान्ति, स्थायित्व र राष्ट्रिय हित कायम राख्न सबैको सहयोग अपेक्षा गरेको गृह मन्त्रालयले जनाएको छ।

Leave a comment