
रुकुम पूर्वको भुमे गाउँपालिका–४ काँडाबगरस्थित मध्यपहाडी लोकमार्गमा अटो र मोटरसाइकल एकआपसमा ठोकिँदा सात जना घाइते भएका छन्। दुर्घटना शुक्रबार साँझ करिब साढे पाँच बजे भएको हो।
खाबाङबगरबाट रुकुमकोटतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश–०२–००१ ह १४९३ नम्बरको अटो र विपरीत दिशाबाट आउँदै गरेको कर्णाली प्रदेश–०३–००१ प ०७६८ नम्बरको मोटरसाइकल ठोकिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ।
घाइते हुनेमा अटो चालक भुमे–२ खाबाङका ४५ वर्षीय सहिन पुन, ११ वर्षीय सुदीप पुन, २७ वर्षीया अस्मिता झाक्री बुढामगर, ४३ वर्षीया कर्म कुमारी पुन, ८ वर्षीय बचन बुढामगर, मोटरसाइकल चालक रुकुम पश्चिम आठबिसकोट–१० का १८ वर्षीय गणेश शाही र सल्याण बागचौर–६ का १९ वर्षीय बसन्त भण्डारी रहेका छन्।
प्रहरीका अनुसार सबै घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल रुकुमकोट लगिएको छ। अटो चालक पुनको आँखानिर चोट लागेको, कर्म कुमारी पुनको निधार र खुट्टामा चोट लागेको र अन्यको शरीरका विभिन्न भागमा सामान्य चोट लागेको बताइएको छ।
प्राथमिक उपचारपछि गम्भीर घाइते कर्म कुमारी पुनलाई थप उपचारका लागि पोखरा पठाइएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनापछि प्रहरी निरीक्षक लक्ष्मी गुरुङ र कर्ण बहादुर खड्काको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।
दुवै सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ।