
ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरा देवी मन्दिरमा शनिबार एकै दिन ६ हजार ३९३ जना भक्तजनले दर्शन गरेका छन्। यो संख्या यस यामकै सबैभन्दा बढी हो।
पाथीभरा क्षेत्र विकास समितिका अनुसार भक्तजनहरू बिहान ३ बजेबाट दिउँसो ३ बजेसम्म लाममा बसेर पूजा–अर्चना गरेका थिए। समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार शनिबार बिहानैदेखि मन्दिर परिसर भक्तजनको भीडले खचाखच भरिएको थियो।
पाथीभरा मन्दिरमा वर्षभर भक्तजनहरूको आगमन भइरहने गरे पनि विशेष गरी दसैं–तिहार र चैते दशैंको समयमा यात्रुहरूको भीड निकै बढ्ने गर्दछ। यसअघि गत असोज महिनाभर २९ हजार १७४ भक्तजनले पाथीभराको दर्शन गरेको समितिले जनाएको छ।
पाथीभरा मन्दिरको धार्मिक महत्व
हिमाली जिल्ला ताप्लेजुङको फुङलिङ नगरपालिका–११ स्थित ३,७९४ मिटर उचाइमा रहेको पाथीभरा मन्दिरलाई शक्तिपीठका रूपमा मानिन्छ। भक्तजनहरूले यहाँ सन्तान, धन र सिद्धिको वरदान प्राप्त हुने विश्वासका साथ पूजा गर्ने गर्छन्।