
राष्ट्रिय मानव अधिकार आयोगले देशभर भइरहेका प्रदर्शन र आन्दोलनमा संलग्न सबै पक्षलाई संयमित रहन आग्रह गरेको छ। आफ्ना मागहरू सम्बोधन हुनुपर्ने मागसहित प्रदर्शन गरिरहेका समूहहरूलाई सम्बोधन गर्दै आयोगले शान्तिपूर्ण अभ्यास र मानव अधिकारको सम्मान गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने जनाएको छ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा सरकारले नागरिकका मागहरूलाई समयमै सम्बोधन गर्नुपर्ने, समस्याको समाधान वार्ता र संवादमार्फत खोजिनुपर्ने र विधिको शासनअनुसार सबैको अधिकार सुनिश्चित हुनुपर्ने उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ, “हरेक समस्याको समाधान संविधान, कानुन र मानव अधिकारका मूल्यमान्यताका आधारमा शान्तिपूर्ण रूपमा खोजिनुपर्छ।”
आयोगले विगतका केही प्रदर्शनहरूमा हिंसात्मक घटनाहरू भएको उल्लेख गर्दै, भविष्यमा त्यस्ता अवस्था दोहोरिन नदिन प्रदर्शनरत पक्ष सचेत रहनुपर्नेमा जोड दिएको छ। आयोगका अनुसार प्रदर्शनलाई शान्तिपूर्ण बनाउन सरकार र प्रदर्शनकारी दुवै जिम्मेवार छन्।
विज्ञप्तिमा भनिएको छ, “सुरक्षा निकायले संयमता र विवेकपूर्ण व्यवहार देखाउनुपर्छ भने प्रदर्शनरत पक्षले घृणायुक्त अभिव्यक्ति र उत्तेजनापूर्ण व्यवहारबाट टाढा रहनुपर्छ।”
आयोगले नागरिकका अधिकारहरूको सम्मान र शान्तिपूर्ण प्रदर्शनको वातावरण सुनिश्चित गर्न राज्य जिम्मेवार रहेको बताएको छ। साथै, गत भदौ २३ र २४ गते जेनजेड (Gen Z) पुस्ताले उठाएका जायज मागहरूलाई पनि समयमा सम्बोधन गर्न सरकारलाई आह्वान गरेको छ।