Join our Channel

तीन सय विदेशी पर्यटकले कञ्चनजङ्घा हिमाल क्षेत्रको भ्रमण गरे, आरोहण जारी

तीन सय विदेशी पर्यटकले कञ्चनजङ्घा हिमाल क्षेत्रको भ्रमण गरे, आरोहण जारी

यस याममा कञ्चनजङ्घा हिमाल क्षेत्रमा करिब ३०० जना विदेशी पर्यटकले भ्रमण गरेका छन्। केही पर्यटक घुन्सा क्षेत्रमा विश्राम गरेका छन् भने आरोहणका गतिविधि समेत जारी छ।

फ्रान्सेली दुई नागरिकले गत असोज महिनाको दोस्रो साता ६,८०८ मिटर उचाइको ‘ह्वाइट वेभ पिक’ पहिलो पटक सफलतापूर्वक आरोहण गरेका थिए। आरोहणमा फ्रान्सका बेन्जामिन चार्ल्स इली वेद्रिन्स र निकोलस पाउल अरीस्टाइड सहभागी थिए।

गत साता चिलिका एक नागरिकले कञ्चनजङ्घा हिमालको काखमै रहेको पाथीभरा हिमाल सफलतापूर्वक आरोहण गरेका थिए। फ्रान्सका तीन नागरिकले विश्वको ३२औँ अग्लो र नेपालको १५औँ अग्लो कुम्भकर्ण (७,७१० मिटर) हिमालको आधार शिविर क्षेत्रमा पुगेर आरोहण तयारी गरिरहेका छन्।

गत वर्ष दक्षिण कोरियाका चार नागरिकले ६,३२८ मिटर उचाइको शार्फु–५ हिमाल पहिलो पटक सफलतापूर्वक आरोहण गरेका थिए भने चैतमा शार्फु–४ हिमालको पहिलो आरोहण पनि भएको थियो।

कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का घुन्सा पर्यटन चेकपोष्ट कार्यालयका पर्यटन सहायक टाँसी तेन्जिङका अनुसार, भ्रमण याम गत भदौको तेस्रो सातादेखि मङ्सिर १५ गतेसम्म चल्नेछ।

पर्यटन विभागका अनुसार, गत वर्षको आरोहण याममा ४१ जनाले ८,५५६ मिटर उचाइको कञ्चनजङ्घा हिमालको चुचुरोमा सफलता प्राप्त गरेका थिए। यसबाट १ करोड ९७ हजार ४६० रुपैयाँ रोयल्टी सङ्कलन भएको थियो।

Leave a comment