Join our Channel

म्याग्दीमा देउसीभैलोबाट सङ्कलित दुई लाख सडक निर्माणमा खर्च

म्याग्दीमा देउसीभैलोबाट सङ्कलित दुई लाख सडक निर्माणमा खर्च

धवलागिरि गाउँपालिका–१ गुर्जामाआमा समूहले तिहारको अवसरमा देउसीभैलो खेलेर सङ्कल गरेको दुई लाख रूपैयाँ सडक निर्माणमा सहयोग गरेको छ। गाउँमा सडक सञ्जालको पहुँच नपुगेको यस वडामा सडक विस्तारका लागि आमा समूहले यस आर्थिक सहयोग गरेको हो।

गुर्जामाआमा समूहका अध्यक्ष ज्ञानकुमारी छन्त्यालले बताएअनुसार, देउसीभैलोबाट सङ्कलित चार लाख नौ हजारमध्ये दुई लाख रूपैयाँ दुर्गम र विकट बस्ती गुर्जा गाउँमा सडक सञ्जाल पुर्‍याउने योजनामा सहयोग गरिएको हो।

आइतबार आयोजित कार्यक्रममा आमा समूहका अध्यक्ष छन्त्यालले वडा सदस्य गुनराम छन्त्याल र केआई सिंह छन्त्याललाई उक्त रकम हस्तान्तरण गरेका थिए। वडा सदस्य गुनराम छन्त्यालले बताएअनुसार, रकम वडा कार्यालयमार्फत सडक निर्माण योजनाको अगुवाइ गरिरहेको गुर्जा विकासमञ्च पोखरालाई उपलब्ध गराइनेछ।

धवलागिरि–२ लुलाङदेखि देउराली हुँदै गुर्जाको भैँसीमाने खोल्सासम्म पुगेको सडकलाई विस्तार गरी करिब पाँच किलोमिटर सडकको ट्र्याक निर्माण गर्न बाँकी छ। यसअघि पनि सरकारी बजेटको अतिरिक्त स्वदेश तथा विदेशमा रहेका गुर्जावासीले आन्तरिक स्रोत जुटाएर सडक विस्तारको काम गर्दै आएका छन्।

गाउँपालिकाका वडाअध्यक्ष झकबहादुर छन्त्यालका अनुसार, चालु आर्थिक वर्षमा लुलाङ–गुर्जा सडकको लागि संघीय सरकारले १ करोड ४० लाख, गाउँपालिकाले ३५ लाख, सहरी विकास मन्त्रालय २ करोड र गण्डकी प्रदेश सरकार ५० लाख रूपैयाँ बजेट विनियोजन गरेको छ।

Leave a comment