
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले संस्थाको नियमविपरीत कार्य गर्ने चिकित्सकसहित पाँच कर्मचारीलाई बर्खास्त गरेको छ। साथै, तीन जनामाथि विभागीय कारबाही गरिएको प्रतिष्ठानका रजिस्ट्रार प्रा.डा. सूर्यप्रसाद संग्रौलाले जानकारी दिएका छन्।
बर्खास्त हुनेमध्ये स्त्रीरोग विशेषज्ञ तथा पूर्व–रजिस्ट्रार प्रा.डा. मोहन्चन्द्र रेग्मी प्रमुख रहेका छन्। रेग्मी प्रतिष्ठानमा कार्यरत रहँदै काठमाडौंस्थित सिभिल अस्पतालमा निर्देशक बनेका थिए। दुई वर्षको काज अवधि सकिएपछि पनि धरानमा हाजिर नभएकाले कार्यकारिणी समितिले उनलाई बर्खास्त गरेको हो।
त्यस्तै, रेग्मीकी पत्नी तथा प्रतिष्ठानकै स्कुल अफ पब्लिक हेल्थकी असिस्टेन्ट प्रोफेसर लक्ष्मी सुवेदीलाई समेत स्वीकृति बिना विदेश गएकी कारण बर्खास्त गरिएको हो।
नियम उल्लङ्घन र अनुशासनहीन कार्यमा संलग्न अन्य तीन कर्मचारी — दिलीप परियार, किरण भट्टराई र सुरेन बास्फोर पनि काममा लापरबाही र प्रशासनिक नियम उल्लङ्घनका कारण बर्खास्तीमा परेका छन्।
अनुशासनहीन चिकित्सक र अधिकृतमाथि कारबाही
हाडजोर्नी विभागका प्रमुख डा. रोशन कलवार र शाखा अधिकृत कान्तलाल चौधरीमाथि पनि एक ग्रेड घटाई विभागीय कारबाही गरिएको छ। उनीहरूलाई पद दुरुपयोग र आन्तरिक नियम विपरीत कार्य गरेको प्रमाणित भएको प्रतिष्ठानले जनाएको छ।
कारबाहीपछि डा. कलवारले प्रतिष्ठानमा हाजिर नगरेको स्रोतले बताएको छ।
प्रोफेसर बढुवामा अनियमितता
प्रतिष्ठानका अर्का कर्मचारी श्याम लम्सालले नर्सिङ प्रोफेसरमा बढुवाको क्रममा नियम उल्लङ्घन गरेको पाइएको छ। नियम अनुसार ६ वर्ष एसोसिएट प्रोफेसर र ७ वर्ष बाहिरी संस्थामा अनुभव आवश्यक हुने भए पनि उनले ६ वर्ष ८ महिना मात्रै अनुभव देखाएर बढुवा गरेका थिए।
छानबिनपछि उनलाई प्रोफेसरबाट २ तह घटाएर एसोसिएट प्रोफेसरमा झारिएको र राजीनामा स्वीकृत गरिएको रजिस्ट्रार संग्रौलाले जनाएका छन्।
सुधार अभियान सुरु
रजिस्ट्रार डा. संग्रौलाका अनुसार, पछिल्ला वर्षहरूमा प्रतिष्ठानभित्र बढ्दो प्रशासनिक अनियमितता र प्रभावशालीको दबाबका कारण संस्थाको मर्यादामा आघात पुगेको भन्दै कडाइका साथ सुधार अभियान सुरु गरिएको छ।
“बीपी प्रतिष्ठान शिक्षण, अनुसन्धान र स्वास्थ्य सेवाको उत्कृष्ट केन्द्र हो।
यहाँको प्रतिष्ठा कायम राख्न कसैप्रति पनि सम्झौता गरिँदैन,”
— प्रा.डा. सूर्यप्रसाद संग्रौला, रजिस्ट्रार, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान।
यो कारबाहीपछि संस्थाभित्र अनुशासन र जिम्मेवारीप्रतिको चेतना बढ्ने अपेक्षा गरिएको छ।