
नेकपा (माओवादी केन्द्र) ले कार्तिक २० गते एकतामा सहभागी हुन लागेका दलहरूसँग संयुक्त बैठक बस्ने र एकीकृत पार्टीको संगठनात्मक ढाँचा टुङ्गो लगाउने निर्णय गरेको छ।
आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको महाधिवेशन आयोजक समितिको सचिवालय बैठकले यो निर्णय गरेको हो। पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार, माओवादी केन्द्रले एकीकृत समाजवादी, जसपा (महेन्द्रराय यादव समूह), प्रेमबहादुर सिंह नेतृत्वको नेकपा समाजवादी, राजु कार्की समूह र सुवास काफ्लेको जनसमाजवादी पार्टीसँग एकता गर्न तयारी थालेको छ।
सापकोटाले भने,
“अहिले देशमा गम्भीर राजनीतिक संकट छ। त्यसलाई सामना गर्नका लागि वामपन्थी एकता अपरिहार्य भएको हाम्रो निष्कर्ष हो।”
केन्द्रीय कमिटी बैठक मङ्गलबार
सचिवालय बैठकले कार्तिक १८ गते (मङ्गलबार) माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय पनि गरेको छ, जसले एकताको औपचारिक अनुमोदन गर्नेछ।
बैठकमा संगठनात्मक समायोजन, नीतिगत धारणा, वैचारिक दिशानिर्देशन र एकतापछि नयाँ पार्टी दर्ता प्रक्रियाबारे गहन छलफल भएको प्रवक्ता सापकोटाले जानकारी दिए।
जनार्दन शर्मा बैठकमा अनुपस्थित
एकताप्रति असन्तुष्टि जनाएका नेता जनार्दन शर्मा भने आइतबारको बैठकमा अनुपस्थित थिए। शर्मा गत शनिबारको बैठकमा नै एकता प्रक्रियाले माओवादी आन्दोलनको पहिचान मेट्ने भन्दै रोक्न माग गरेका थिए।
माओवादी केन्द्रको एकता अभियान
माओवादी केन्द्रले यसपटकको एकता प्रयासलाई “ऐतिहासिक वाम पुनर्गठन”को रूपमा अघि बढाइरहेको छ। पार्टी स्रोतका अनुसार, एकता भएपछि नयाँ दलको नेतृत्व, संगठनात्मक ढाँचा र वैचारिक नीति तय गर्न उच्चस्तरीय समिति गठन गरिनेछ।