Join our Channel

मध्यपूर्व हवाई प्रतिबन्धको असर: दैनिक ५ हजार यात्रु नेपालमै रोकिए, अन्तर्राष्ट्रिय उडान रद्द

मध्यपूर्व हवाई प्रतिबन्धको असर: दैनिक ५ हजार यात्रु नेपालमै रोकिए, अन्तर्राष्ट्रिय उडान रद्द

अमेरिका र इरानबीच बढ्दो तनावका कारण मध्यपूर्वका विभिन्न देशले हवाई क्षेत्र बन्द गरेपछि नेपालबाट हुने अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ। हवाई प्रतिबन्धका कारण दैनिक करिब ५ हजार यात्रु नेपालमै रोकिएको जानकारी नेपाल नागरिक उड्डयन प्राधिकरणले दिएको छ।

हाल कतार, यूएई, कुवेत, इरान, इराक, इजरायल, जोर्डन, लेबनान र बहराइनसहित ९ देशले आफ्नो एयरस्पेस बन्द गरेका छन्। यी देशमा हुने उडान रोकिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अधिकांश बाह्य उडान रद्द भएका छन्। सामान्यतया नेपालबाट हुने बाह्य उडानको ठूलो हिस्सा मध्यपूर्वतर्फ हुने भएकाले विमानस्थल सुनसानजस्तै देखिएको छ।

नेपालबाट दैनिक करिब १८ अन्तर्राष्ट्रिय उडान हुने गरेकोमा हाल अधिकांश उडान रद्द भएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार शनिबार र आइतबार मात्रै करिब १० हजार यात्रु नेपालमै रोकिएका छन्। रोकिएका यात्रुको व्यवस्थापनका लागि सम्बन्धित एयरलाइन्स कम्पनीसँग समन्वय भइरहेको उनले बताए।

प्राधिकरणका अनुसार जजिरा एयरवेज, कुवेत एयरवेज, एयर अरेबिया, फ्लाइ दुबई, नेपाल एयरलाइन्स, कतार एयरवेज र हिमालय एयरलाइन्सका उडानहरू लगातार रद्द भएका छन्। टर्किस एयरलाइन्सको उडान भने नियमित रूपमा सञ्चालन भएको छ।

प्राधिकरणले जनाएको अनुसार नेपाली आकाशमा कुनै प्रतिबन्ध लगाइएको छैन। तर अन्य देशहरूले सुरक्षा कारणले आफ्नो हवाई क्षेत्र बन्द गरेपछि नेपालबाट हुने उडान प्रभावित भएको हो।

यात्रुको खाना र बसोबासको व्यवस्था

विदेश जान काठमाडौं आएका यात्रुको खानाबास व्यवस्थापन गर्न तथा विदेशी नागरिकको भिसा सहजीकरण गर्न प्राधिकरणले एयरलाइन्स र होटलसँग समन्वय गरिरहेको जनाएको छ। विमानस्थल पुगेका यात्रुलाई होटलमा राखिएको र उडान रद्द भएका यात्रुलाई टिकट परिवर्तन वा मिति सार्ने सुविधा दिइएको छ।

कतारका दुई जहाज काठमाडौंमै रोकिए

तनाव बढ्नुअघि कतार एयरलाइन्सका दुई जहाज काठमाडौं अवतरण गरेका थिए। तर हवाई प्रतिबन्ध लागेपछि ती जहाज दोहा फर्किन सकेनन्। हाल ती जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ क्षेत्रमा राखिएको छ। प्रतिबन्ध हट्नेबित्तिकै उडान हुने बताइएको छ।

प्रतिबन्ध हटेपछि थप चुनौती

प्राधिकरणका अनुसार प्रतिबन्ध लम्बिँदै गए यात्रु व्यवस्थापन झन् कठिन हुनेछ। प्रतिबन्ध हटेपछि नियमित यात्रुसँगै रोकिएका यात्रुलाई गन्तव्यसम्म पुर्‍याउन थप उडान सञ्चालन गर्नुपर्ने अवस्था आउन सक्छ। आवश्यक परे चार्टर्ड उडानका लागि सरल अनुमति प्रक्रिया अपनाइने तयारी गरिएको छ।

Leave a comment