Join our Channel

हर्षोल्लासका साथ देशभर होली पर्व मनाइँदै, काठमाडौँमा चिर दहनको विशेष परम्परा

हर्षोल्लासका साथ देशभर होली पर्व मनाइँदै, काठमाडौँमा चिर दहनको विशेष परम्परा

आज देशभर हर्षोल्लासका साथ होली पर्व मनाइँदै छ। आपसी सद्भाव, मेलमिलाप र खुशी साटासाट गर्ने पर्वका रूपमा परिचित होली प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइन्छ। आज मानिसहरूले एकअर्कामा रङ र अबिर दल्दै, लोला खेल्दै तथा शुभकामना आदानप्रदान गर्दै उत्सव मनाइरहेका छन्।

वसन्त ऋतुको आगमनसँगै मनाइने फागु पर्वले समाजमा भाइचारा, प्रेम र सहिष्णुताको सन्देश दिने विश्वास रहेको छ। यस पर्वको अवसरमा सरकारले परम्परादेखि नै सार्वजनिक बिदा दिँदै आएको छ। पहाडी तथा हिमाली क्षेत्रमा आज होली मनाइए पनि तराईका जिल्लामा पूर्णिमाको भोलिपल्ट मनाउने परम्परा अनुसार यस वर्ष तराई क्षेत्रमा मंगलबार होली मनाइँदै छ। सोही अनुसार सरकारले तराईका जिल्लामा मंगलबार सार्वजनिक बिदा दिएको छ।

काठमाडौँको वसन्तपुर क्षेत्रमा होलीको विशेष महत्व रहेको छ। यहाँ उपस्थित भक्तजन तथा सर्वसाधारणले वातावरणलाई रङ्गीचङ्गी बनाउँदै गाडिएको चिरलाई विधिपूर्वक ढालेर बाजागाजासहित टुँडिखेल लगेर जलाउने चलन छ। चिरमा राखिएका ध्वजापताका औषधीय गुणयुक्त हुने विश्वासका साथ मानिसहरूले लिने र चिरको खरानीको टीका लगाउँदा अनिष्ट टर्ने जनविश्वास रहेको छ।

फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठक अगाडि मैलको रूखलाई रङ्गीचङ्गी ध्वजापताकाले सजाएर चिर गाडेपछि फागु पर्व सुरु भएको मानिन्छ। आज राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई प्रतीकात्मक रूपमा भात र मासु चढाएर जलाउने प्राचीन चलन पनि काठमाडौँमा अहिले पनि कायम छ।

धार्मिक कथाअनुसार त्रेतायुगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले आगोले नजल्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई आगोमा बस्न लगाएका थिए। तर होलिका नै भष्म भइन् भने भक्त प्रह्लाद सुरक्षित रहे। त्यही घटनाको सम्झनामा होली पर्व मनाउने परम्परा सुरु भएको विश्वास गरिन्छ।

त्यस्तै द्वापरयुगमा भगवान श्रीकृष्णलाई मार्न पठाइएकी राक्षसनी पुतना असफल भएपछि व्रजवासीहरूले खुशी मनाउँदै उत्सव मनाएको प्रसंग पनि होलीसँग जोडिएको धर्मग्रन्थमा उल्लेख छ।

होली पर्वलाई असत्य माथि सत्यको विजय, घृणामाथि प्रेमको जीत र दुष्ट प्रवृत्तिमाथि सदाचारको विजयको प्रतीकका रूपमा मनाइने गरिन्छ।

Leave a comment