
अछामको साँफेबगर नगरपालिका–३ हाटबजारमा शनिबार राति भीषण आगलागी हुँदा सात वटा पसल पूर्ण रूपमा जलेर नष्ट भएका छन्। दमकल नहुँदा आगो नियन्त्रणमा ठूलो कठिनाइ भएको स्थानीयहरूले बताएका छन्।
आगलागी राति करिब पौने ९ बजे सुरु भई करिब १०:१५ बजेतिर नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। प्रहरीका अनुसार एउटा पसलमा विद्युत् सर्ट हुँदा आगो फैलिएको हो।
जलेर नष्ट भएका पसलहरूमा सुमन कुँवरको राज्यश्वरी कृषि फर्म, अशोक कुँवरको जुत्ता पसल, महेन्द्र कार्कीको किराना पसल, बलबहादुर कुँवरको होटल, कर्ण कुँवरको एग्रोभेट सेन्टर, तपेन्द्र ठकुल्लाको फेन्सी स्टोर र नरेन्द्र गिरिको सिलाइ कटाइ पसल रहेका छन्।
त्यस्तै, किशोर भाट र गोपाल धामीका चिया–नास्ता पसलहरू आंशिक रूपमा जलेका छन्।
आगो नियन्त्रणका लागि नेपाली प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले गौतम कुँवरको JCB र ईन्द्रसरा आयल स्टोरको पानी ट्यांकरको सहयोगमा आगो निभाएका थिए।
सात महिनामा तेस्रो आगलागी, तर अझै दमकल छैन
यो सात महिनाभित्र सोही क्षेत्रमा तेस्रो आगलागी हो।
- चैत २६ गते बान्नीगढी जयगढ गाउँपालिकाको जयगढ बजारमा भएको आगलागीमा ३५ घर–पसल जलेर करिब ८ करोड रुपैयाँको क्षति भएको थियो।
- वैशाख १३ गते साँफेबगरकै हाटबजारमा १० वटा पसल जलेर करिब ३ करोड रुपैयाँको क्षति भएको थियो।
- र हालै शनिबारको आगलागीमा फेरि ७ वटा पसल पूर्ण रूपमा नष्ट भएका छन्।
मंगलसेन नगरपालिका बाहेक अछामका अन्य ९ स्थानीय तहसँग अझै पनि दमकल छैन, जसका कारण आगलागीका प्रत्येक घटनामा ठूलो आर्थिक र भौतिक क्षति हुँदै आएको छ।
स्थानीयवासीले बारम्बार दमकल खरिदको माग गर्दै आएका छन् तर आगलागीपछि केही समय चर्चा भएको विषय पुनः बिर्सिने गरेको उनीहरूको गुनासो छ।
शनिबारको घटनामा प्रहरीले र स्थानीयले बाल्टीनै प्रयोग गरी आगो निभाउने प्रयास गरेको दृश्यले दमकलको आवश्यकता झन् स्पष्ट बनाएको छ।