
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कृत्रिम बौद्धिकता (AI) लाई अब भविष्यको सपना नभई अहिलेको आवश्यकता भएको बताएका छन्।
नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागद्वारा आयोजित ‘नेपालको विकासका लागि कृतिम बौद्धिकता समग्र विश्लेषण’ विषयक कार्यक्रममा बोल्दै देउवाले एआई प्रयोगबाट जनताको जीवनशैलीमा महत्वपूर्ण परिवर्तन सम्भव भएको बताए।
“आजको युग विज्ञान र प्रविधिको हो। एआई अब केवल भविष्यको सपना होइन, यो अहिलेको आवश्यकता हो। हामीले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, रोजगारी र सार्वजनिक सेवा प्रवाहमा जिम्मेवार रूपमा एआईको प्रयोग गर्नुपर्छ”, – सभापति देउवा
प्रविधिको प्रयोगले जनताको जीवनशैली परिवर्तन हुँदै
देउवाले प्रविधिमैत्री योजनाहरू—इन्टरनेटको पहुँच, मोबाइल बैंकिङ, अनलाइन फारम, डिजिटल शिक्षा र स्वास्थ्य सेवाले जनताको जीवनशैली सरल र समावेशी बनाएको बताए। उनले कांग्रेस नेतृत्वको सरकारले ल्याएका नीति तथा ऐनका कारण अहिले नेपालका टाढा बस्तीहरूमा पनि प्रविधिको पहुँच पुगेको बताए।
“एक क्लिकमै बैंकिङ सेवा, कृषि परामर्श वा स्वास्थ्य सल्लाह उपलब्ध हुनु कांग्रेस नेतृत्वको सरकारद्वारा बनाइएका अग्रगामी नीतिको परिणाम हो,” – देउवा
नवप्रवर्तन र डिजिटल नेपाल निर्माणमा कांग्रेसको प्रतिबद्धता
सभापति देउवाले कांग्रेसले सधैं नवप्रवर्तन र प्रविधिमार्फत सामाजिक रूपान्तरणमा विश्वास राखेको भन्दै युवा उद्यमी, अनुसन्धानकर्ता र निजी क्षेत्रको सृजनशीलता प्रवर्द्धनमा पार्टी क्रियाशील रहेको स्पष्ट पारे। उनले जनतालाई केन्द्रमा राखेर उपलब्धि–केन्द्रित प्रविधि नीति बनाउने पक्षमा कांग्रेस प्रतिवद्ध रहेको पनि उल्लेख गरे।
“अब सबै मिलेर प्रविधिमैत्री, नवप्रवर्तनशील र समृद्ध डिजिटल नेपाल निर्माणमा लाग्नुपर्ने बेला आएको छ”, – देउवा
विज्ञहरूको धारणा
कार्यक्रममा एआई विज्ञ डा. सुरेश पोखरेलले एआईको तीव्र विकास भइरहेको बताउँदै अब समुचित उपयोगबिना विकास सम्भव नरहेको बताए।
त्यस्तै, विज्ञान तथा सूचना प्रविधि विभाग प्रमुख सुशीला भट्ट मिश्रले प्रविधिको युगमा नेपालको विकास कसरी सम्भव छ भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइन्। उनले बहस, छलफलमार्फत आवश्यक नीति निर्माण गरी चुनौतीहरू समाधान गर्न आवश्यक रहेको बताइन्।