
नेकपा माओवादी केन्द्रको महेन्द्रनगरस्थित पार्टी कार्यालयभित्रै भएको कुटाकुट घटनामा अखिल क्रान्तिकारीका सुदूरपश्चिम प्रदेश इन्चार्ज रामचन्द्र भट्ट गम्भीर घाइते भएका छन्।
आइतबार साँझ भएको घटनामा भीमदत्त नगर कमिटी सदस्य भुवन विष्टले भट्टमाथि आक्रमण गरेका थिए। विष्टको कुटपिटबाट गम्भीर घाइते भएका भट्टको हाल धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी सागर बोहराले जानकारी दिएका छन्।
छलफलकै क्रममा उत्रियो कुटाकुट
घटनाको बेलामा पार्टी कार्यालयमा छलफल जारी थियो। छलफलकै दौरान विवाद चर्किएपछि विष्ट र भट्टबीच कुटाकुट भएको डिएसपी बोहराले बताए। विष्ट पनि सामान्य घाइते भएका छन् र प्रहरी निगरानीमा उपचार भइरहेको छ।
पार्टी निर्णय : विष्टमाथि कारवाही
कुटपिटपछि माओवादी केन्द्रले भुवन विष्टलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ।
माओवादी केन्द्र कञ्चनपुरले जारी गरेको विज्ञप्तिमा भनिएको छ,
“पूर्व रिसिइबीको कारण विष्टले छलफलकै क्रममा भट्टमाथि आक्रमण गरेका थिए। यस्ता कार्यले पार्टीको गरिमा गिराएको छ।”
हिंसात्मक घटनाले पार्टीभित्रको आन्तरिक अवस्था उजागर?
यो घटनाले माओवादी केन्द्रको आन्तरिक संरचना र अनुशासनप्रति गम्भीर प्रश्न उठाएको छ। पार्टीभित्रको असहिष्णुता र रिसिइबी खुला कुटाकुटमा परिणत हुनुले राजनीतिक दलभित्रको कार्यशैली कस्तो छ भन्ने प्रश्न उठाएको विश्लेषकहरूको भनाइ छ।