Join our Channel

एयर इन्डिया जहाज दुर्घटना : उछिट्टिएर बाहिरिएका यात्रु विश्वासको दर्दनाक अनुभव

एयर इन्डिया जहाज दुर्घटना : उछिट्टिएर बाहिरिएका यात्रु विश्वासको दर्दनाक अनुभव

भारतको गुजरातस्थित अहमदाबाद विमानस्थलनजिकै बिहीबार दिउँसो एयर इन्डियाको उडान एआई १७१ दुर्घटनामा पर्‍यो। लन्डनका लागि उडेको यो बी-७८७ ड्रिमलाइनर जहाजमा २४२ जना सवार थिए। जहाज टेकअफ भएको करिब ३० सेकेन्डमै ठूलो आवाजसहित दुर्घटना भयो।

दुर्घटनापछि बेलायती नागरिक ४० वर्षीय विश्वासकुमार रमेश उछिट्टिएर जहाजबाट बाहिरिएका थिए। उनले हिन्दुस्तान टाइम्ससँगको कुराकानीमा भने, “सबै कुरा एक्कासी भयो, ठूलो आवाज आयो र जहाज भाँचिएझैं लाग्यो। म कसरी बाहिर आएँ, थाहा छैन, तर म बाँचे।”

घाइते विश्वासको बयान : चमत्कारी रूपमा बाँचेको अनुभव

विश्वास आफ्ना दाजु अजयकुमार रमेशसँग भारतको पारिवारिक भ्रमण सकेर बेलायत फर्कंदै थिए। टेकअफपश्चातको ३० सेकेन्डमै भएको दुर्घटनामा उनी सिट नम्बर ११ ‘ए’ मा थिए। दुर्घटनामा उनको छाती, आँखा र खुट्टामा चोट लागेको छ र हाल अहमदाबाद सिभिल अस्पतालमा उपचार भइरहेको छ।

उनी सवार जहाज एयर इन्डियाको बी-७८७ ड्रिमलाइनर थियो, जसलाई क्याप्टेन सुमीत सभरवालफर्स्ट अफिसर क्लाइभ कुन्दरले उडाइरहेका थिए। क्याप्टेन सभरवालसँग ८,२०० घण्टा र कुन्दरसँग १,१०० घण्टाको उडान अनुभव रहेको भारतीय नागर विमानन महानिर्देशनालयले जनाएको छ।

जहाजमा रहेका यात्रुहरूको विवरण

एयर इन्डियाले दिएको जानकारी अनुसार जहाजमा २ जना पाइलट, १० जना क्याबिन क्रु र २३० यात्रु सवार थिए। तीमध्ये:

  • १६९ जना भारतीय
  • ५३ जना बेलायती
  • ७ जना पोर्चुगिज
  • १ जना क्यानाडाली यात्रु रहेका थिए।

भारतीय मिडियाका अनुसार दुर्घटनाग्रस्त जहाजमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणी पनि सवार थिए। हालसम्म उनको अवस्था सार्वजनिक गरिएको छैन।

Leave a comment