
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति आर्जन गरेको आरोपमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पर्यटन विभाग, भृकुटीमण्डपमा कार्यरत सचिन्द्रकुमार यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आयोगका अनुसार यादवले सरकारी सेवामा २०६६ जेठ २४ देखि २०७९ साउन २९ सम्मको अवधिमा कुल रु २ करोड ६८ लाख १८ हजार ९०० बराबरको वैध आय आर्जन गरेका थिए। तर सोही अवधिमा उनले रु ३ करोड ६५ लाख ४ हजार ४५३ बराबरको खर्च तथा लगानी गरेको पाइएको छ। परीक्षणका क्रममा रु ९६ लाख ८५ हजार ५५३ बराबरको रकमको स्रोत खुल्न नसकेको आयोगले जनाएको छ।
आयोगको दाबी अनुसार यादवले आफ्नो पदीय हैसियत दुरुपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गर्दै अस्वाभाविक उच्च जीवनस्तर अपनाएका छन्। साथै, गैरकानुनी रूपमा आर्जन गरिएको सम्पत्ति पत्नी आशाकुमारी यादवको नाममा समेत राखिएको पाइएको छ।
आयोगले सचिन्द्रकुमार यादव र उनकी पत्नी आशाकुमारीलाई प्रतिवादी बनाई विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिएका छन्।